कन्याममा सुरु भो पिकनिकको रौनक (फोटोफिचर सहित)



Photo1692लक्ष्मी काफ्ले , विर्तामोड (तस्विरसहित)-
इलामे शहर चियाबारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो……..,

कस्की हौ छोरी, पातली मोरी , लैजाने आँट हाम्रो…….
पूर्वकै सुन्दर नगरी ईलामको मनमोहक पर्यटकीय स्थल कन्याममा यी र यस्तै यस्तै भाका अब हरेक दिन घन्किन सुरु भईसकेको छ । हिउँदको याम सुरु भएसँगै वनभोज खान र रमाईलो गर्न आउनेको संख्या देख्दा यतिबेला जोकोही पनि अचम्ममा पर्ने गर्छन् । यतिबेला जाडो बढेसँगै ताप्लेजुङको पाथिभरा आवतजावत गर्न कठिनाई हुने हुँदा इलामको कुटिडाँडामा रहेको कान्छी पाथिभरा नामले परिचित पाथिभरा देवीको दर्शन गर्नेहरुको घुईंचो पनि उत्तिकै लाग्ने गरेको छ । पथिभरा देवीको मन्दिरबाट रमणीय स्थल कन्याम छोटो दुरीमा रहेको हुँदा जोकोही यहाँ पुग्ने गर्छन् ।

कन्याम प्रेम जोडीहरुको लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ । लभडाँडा नामले परिचित कन्यामको डाँडामा चढेर टाढा टाढासम्मको दृष्यावलोकन गर्न पाउँदा युवायुवतीलगायत सबैको मन आनन्दित हुने गर्छ कन्याममा । साउण्ड बक्स जोडेर ठूलो ठूलो आवाजमा गीतसंगीत घन्काउँदै कोहि पत्पति धुवाँ उडाउँदै परिकार पकाउनमा व्यस्त देखिन्छन् त कोही जानी–नजानी कम्मर हल्लाउनमै व्यस्त देखिन्छन् । 
kanyam-1
प्रेम गर्नेहरुका लागि रमणीय स्थल भन्दै चर्चामा आउने गरेतापनि कन्याममा रमाइलो गर्न विभिन्न स्थानबाट विभिन्न उमेर समूहका मानिसहरु आउने गर्छन् । काम विशेषले इलाम, पाँचथर, ताप्लेजुङलगायतका स्थान आवतजावत गर्ने मानिसहरुलाईसमेत कन्यामको मनमोहक दृष्यले गाडीबाट ओर्लन बाध्य पार्ने स्थानीयको भनाई छ । यतिबेला कन्यामका चियाबारीमा लुकामारी खेल्दै फोटो खिचाउनेको होडबाजी नै चल्ने गरेको पाईन्छ । कन्याम पर्यटकीय स्थल समेत रहेकाले यहाँ नेपालका विभिन्न स्थानबाट मात्र नभई नेपालबाहिरका पर्यटकहरुसमेत दृष्यावलोकन गर्न आउँछन् । अहिले चर्चामा रहेका हिन्दी फिल्मका गीतहरु बिहानदेखि बेलुकैसम्म गुञ्जिनाले पनि कन्याम यतिबेला झनै रमाइलो बन्दै छ । 
kanyam-2
सफा आकाश भएकाले विहान झुल्किएको घामले बेलुकैसम्म न्यानो साथ दिइरहने हुँदा वनभोज खाँदै, नाच्दै–गाउँदै रमाईलो गर्न उफ्रन मन पराउँछन युवायुवती । बिहान उज्यालो भएदेखि बेलुका साँझैसम्म यहाँ रमाइलो गर्नेको भिड देख्न सकिन्छ । गाडीहरु उकाली–ओराली गरिरहने सडकको दायाँ–वायाँमै रहेको कन्याम यतिबेला पिकनिकप्रेमीले ढपक्कै भरिएको हुन्छ । चिसो बतास चलिरहँदा न्यानो घामको आनन्द लिन आतुर हुने गर्दछन् कन्याममा युवा–युवती । पिकनिकको रमाइलोसँगै हल्का मदिरा पनि लिएर नाच्न थालेपछि रात परेको पत्तै नहुँने उनीहरु सुनाउँछन् । मदिराको मातले छुन थालेपछि जाडो आफैं भाग्ने उनीहरुको अनुभव छ । यहाँको सौन्दर्यमा नलोभिने कमै होलान् । हुलका हुल विशेषगरी झापा, मोरङ र सुनसरीबाट मात्र नभएर नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पिकनिक खान र रमाईलो गर्न आउने गर्छन् । 
kanyam-3
फोटो खिच्नमा तल्लिन नव विवाहित जोडीले पाथिभराको दर्शन गरेर कन्याम आएको र दिनभर यहाँ रमाईलो गरेर साँझ घर फर्किने बताए । चियाको बोटमा लुकामारी खेल्दै फोटो खिच्दा समय चाँडै बितेको अनुभव सुनाउँछन् उनीहरु । बिर्तामोडबाट मोटरसाईकलमा एक घण्टामै पुगिने हुँदा कन्याममा भिड बढ्ने गरेको छ । बेलाबखत यहाँ दार्जीलिङतिरबाट समेत पिकनिक खाने टोली आउने गरेको स्थानीय बताउँछन् । 

वास्तवमै कन्याम रमणीय पर्यटकीय स्थल हो । तर सुरक्षाको दृष्टिले उत्तिनै संवेदनशील पनि । रमाइलो गर्ने बहानामा विभिन्न प्रकारका घटना नघट्लान् भन्न सकिन्न । प्रहरी प्रशासनले पनि चनाखो भएर सुरक्षामा खटिनुपर्ने स्थानीयको बुझाई छ ।

Comment