माधव कमरेड हवेली छाडेर झुप्रोमा जानु भो : पृथ्वीसुब्बा गुरुङ — OSNepal

माधव कमरेड हवेली छाडेर झुप्रोमा जानु भो : पृथ्वीसुब्बा गुरुङ

LC (KTM) March 25, 2022 0

तनहुँ, ११ चैत-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे ।

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।

नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’ विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उनको आरोप छ । अगाडी थप्दै भन्छन्, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’

नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘नेकपा एमाले क्रान्तिकारी भएन । मुलुक निर्माण नगर्ने भो । मुलुकमा क्रान्ति नल्याउने भो । समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्‍यो नि’, उनले भने, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उनको भनाई छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।

केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।

दुई वडाध्यक्ष एमालेमा फर्किए

नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् ।

शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् ।

यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् । तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर