इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’ — OSNepal

इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’

LC (KTM) April 12, 2022 0

मङ्गलबारे, २९ चैत -नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो । सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सूर्योदय नगपालिका प्रदेश नं १ सरकारले पर्यटकीय नगरीका रुपमा घोषणा गरेको छ ।

सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष अभिषेक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ । एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालन गर्न रु ३७ लाख खर्च हुने अनुमान गरिएको छ । गोर्खा ब्रुअरी (टुबोर्ग) को मुख्य प्रायोजन, सूर्योदय नगरपालिका र वडा नं १० को सहयोगमा सञ्चालन हुने महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन् ।सूर्योदय होटल व्यवसायी सङ्घका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगतका दुई वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको बताउँदै यस वर्ष महोत्सव हुने हुँदा धेरैमा उत्साह थपिएको छ । सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने आशा लिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर