सिट बाँडफाँट विवादले झापामा गठबन्धनको एकता संकटमा, तोडिन सक्ने एकीकृत समाजवादीको चेतावनी — OSNepal

सिट बाँडफाँट विवादले झापामा गठबन्धनको एकता संकटमा, तोडिन सक्ने एकीकृत समाजवादीको चेतावनी

LC (KTM) April 22, 2022 0

झापा, ९ वैशाख-केन्द्रको पाँच दलीय सत्ता गठबन्धनमध्ये झापामा चार दलीय गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी झापामा क्रियाशील छन् ।

झापामा जनमोर्चाको संगठन छैन । चार दलीय गठबन्धनले झापामा निकै लामो समयदेखि १५ वटा स्थानीय तहमा सिट बाँडफाँटको कसरत गरिरहेको थियो । तर, अन्तिम समयमा सिट बाँडफाँट टुंगिने बेलामा गठबन्धन झापामा खटपट सुरु भएको छ ।

गठबन्धनका दलले सिट बाँडफाँट टुंगो लगाउन कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । कार्यादलमा माओवादी जिल्ला समन्वय सचिव मोहन टुडु, एकीकृत समाजवादीबाट मीनमणि बराल र जनता समाजवादी पार्टीबाट गौरीमान राई छन् । कार्यादलले सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेको संयोजक हुमागाईंले बताए ।

यो कार्यदलमा अन्तिम टुंगो लागेपछि गठबन्धनको बैठकमा पेस गरिने उनले बताए । तर, सिट बाँडफाँट टुंगिने बेलामा आफूहरूमाथि अपमान हुने गरी सिट बाँडफाँडको प्रस्ताव आएको एकीकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले बताए ।

उनले त्यही प्रस्तावका कारण सँगै चुनाव लड्न नसकिने अवस्था आएको बताए । कार्यदलका संयोजक हुमागाईंले एकीकृत समाजवादीलाई एउटा नगर उपप्रमुख, एउटा उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष लिन प्रस्ताव गरेपछि गठबन्धन तोडिन सक्ने चेतावनी दिए । ‘हामीमाथि अपमान भयो । हामी झापामा ठूलो शक्ति हैन । तर, पाँचवटा वडा र दुईवटा उपप्रमुख/उपाध्यक्ष जित्न गठबन्धन गर्नुपर्दैन,’ अध्यक्ष रेग्मीले भने । उनले यही प्रस्ताव आए एकीकृत समाजवादी एक्लै चुनाव लडेर आफ्नो मत सुरक्षित गर्ने बताए ।

एकीकृत समाजवादीले झापा गठबन्धनमा सुरुदेखि नै एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी गर्दै आएको थियो । तर, गठबन्धनका दलले धरातलीय यथार्थ त्यस्तो नभएकाे बताएपछि एकीकृत समाजवादी केही लचिलोभएको थियो । लचिलो हुँदा पनि गठबन्धनमा आवद्ध ठूलो दल कांग्रेसले पेलिरहेका कारण गठबन्धनबाट बाहिरिन पर्ने अवस्था आउनसक्ने अध्यक्ष रेग्मीले बताए ।

उनका अनुसार बिहीबारबाट भने एकीकृत समाजवादी झापा गठबन्धनका दलहरूसँग संवादमा पनि छैन । उसले बिहीबार नै आफ्नो १५ वटा स्थानीय तहका आकांक्षी उम्मेदवारको लिस्ट सार्वजनिक गरिसकेको छ ।

तर, कांग्रेसलगायत दलले भने एकीकृत समाजवादीले राजनीतिक बार्गेनिङ गरेको जनाएका छन् । ‘झापामा गठबन्धन टुटेको छैन । गठबन्धन टुट्न त उहाँहरूले बाहिरिएको औपचारिक घोषणा गर्नुपर्दछ । तर, अहिलेसम्म त्यो पनि छैन । अनौपचापरिक रूपमा उहाँहरूले हामीसँगको भेटघाटमा बरू हामी मत बटुल्न एक्लै लड्छौँ वा एमालेसँग मिल्छौँ भन्नुभएको चाहिँ हो । सकेसम्म हामी उहाँहरूलाई समेटर लैजान्छौँ,’ कांग्रेस झापाका सचिव हुमागाईंले भने, ‘राजनीतिमा यस्तो हुन्छ । यो राजनीतिका लागि प्रचार मात्र पनि हुन्छ ।’

उनले झापामा एकीकृत समाजवादीको अपमान नभएको दाबी गरे । एकीकृत समाजवादीको धरातल र कांग्रेस स्थानीयस्तरका कार्यकर्ताको रिर्पोटका आधारमा धरातलीय रूमा दह्रो नभएको बताए । बरू माओवादीसँग मिलेर चुनावमा जाँदा रिजल्ट निस्कन सक्ने कार्यकर्ता तहबाट सुझाव आएको उनले बताए ।

उनले एकीकृत समाजवादीलाई टिकट दिँदा कतिपय स्थानमा आफ्ना पार्टीका कार्यकर्ताले भोट पनि नहाल्ने भनेर दबाब दिएको उनले बताए ।

‘कतिपयले एसलाई टिकट दिन भए मत बदर गराउँछौँ । भोट नै हाल्दैनौँ भनेका छन् । तै पनि उहाँहरूसँग दुइैवटा उपप्रमुख/उपाध्यक्ष, पाँचवटा वडाअध्यक्ष चाहिँ दिएकै हो,’ उनले भने । गठबन्धनमा खटपट आउँदा अन्तिम चरणमा पुगेर झापा गठबन्धनमा संवादहिनताको अवस्था आएको छ । ‘बिहीबारदेखि हामीसँग सम्पर्क भएको छैन,’ अध्यक्ष रेग्मीले शुक्रबार भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर