एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो — OSNepal

एमाले धमाधम उम्मेदवारी दर्ता गर्दै, गठबन्धन सिट बाँडफाँटमै अलमलियो

LC (KTM) April 24, 2022 0

झापा-झापामा नेकपा एमालेले १५ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर आइतबार अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गरायो । केही स्थानीय तहमा उम्मेदवारी टुंगो लगाए पनि सोमबार मात्र उम्मेदवारी दर्ता गर्नेछ । सबैले चासोका साथ हेरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले केन्द्रीय सदस्य तथा हालकी उपप्रमुख गीता अधिकारीले नगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराइन् ।

गठबन्धनका दलले एमाले अध्यक्ष ओलीको गृहनगर भएका कारण पनि दमकमा चुनाव लड्ने योजना बनाएका छन् । दमकमा अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलका रूपमा रहेको राप्रपालाई पनि सँगै लिएर जाने निणर्य गरेको छ । तर, राप्रपाले नगरप्रमुख पदको अडान छाडेको छैन । स्रोतका अनुसार जिल्लास्तरीय चार दलीय गठबन्धनले दमकमा माओवादीलाई नगरप्रमुख दिने टुंगो लगाएको छ । यो नगर प्रमुख पद राप्रपालाई दिएर गठबन्धन गर्दै अघि बढ्ने तयारी भइरहेको दमकका एक माओवादी नेताले जनाए ।

झापाका सबै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा पनि सत्ता गठबन्धनका दलले भने सिट बाँडफाँटको काम पनि सकेका छैनन् । केही हप्ताभन्दा लामो समयदेखि निरन्तर सिट बाँटफाँटको प्रयासमा सक्रिय पाँच दलीय गठबन्धनले उम्मेदवारी मनोनयनको दिनसम्म पनि सिट बाँडफाँडको काम नसकेको हो ।

पाँच दलीय गठबन्धनभित्रै खटपट हुँदा भागबन्डा सकिएको छैन । नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनका दलले अपमान गर्न खोजेको भन्दै एक्लै लड्ने बताउँदै आएको छ । आइतबार गठबन्धनका दलका कोही पनि उम्मेदवारले उम्मेदवारी दर्ता गराइनसकेको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए । ‘गठबन्धनका दलका कोही उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । भोलि मात्र गराउने हो,’ उनले भने ।

उनका अनुसार अझै सिट बाँडफाँटको काम सकिएको छैन । ‘सिट बाँडफाँटको काम सकिएको छैन । आज रातिसम्म भए पनि जसरी बाँटफाँटको काम सक्छौँ,’ उनले भने, ‘छलफल निरन्तर भइरहेको छ ।’

जिल्लाको गठबन्धनको दलले सिट बाँडफाँटको सिफारिसका लागि कांग्रेस सचिव हुमागाईंको संयोजकत्वमा चार सदस्यी कार्यदल बनाएको छ । कार्यादलमा केही समयदेखि निरन्तर छलफल भइरहेको छ । कार्यदलमा भएको छलफलमा केही दलले असन्तुष्टि पनि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर