इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त — OSNepal

इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

LC (KTM) May 05, 2022 0

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिनुभएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्रबैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।

बैंकिङ्ग क्षेत्रमा करिब साढेतीन दशक लामो अनुभव संहाल्नु भएका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसक्नु भएको छ । सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिनुभएका उहाँले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी तालिम प्रदान गर्दै आउनु भएको छ ।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भन्नुभयो ‘ डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मुल्य र कम्प्लायन्स्को क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु ’ ।

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल हुनुभएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको छ । उहाँ पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रूपमा रहनुभएको थियो । बोर्ड अध्यक्षबाट उहाँले दिनुभएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६० लाख बढि रहेको छ । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर