सत्तारुढ गठबन्धन नागरिकका गुनासा, सुझाव सल्लाह सहित घरदैलोमा — OSNepal

सत्तारुढ गठबन्धन नागरिकका गुनासा, सुझाव सल्लाह सहित घरदैलोमा

LC (KTM) May 05, 2022 0

थम्मन थापा / बागलुङ :

सत्तारुढ गठबन्धनले गलकोट नगरपालिका वडा नं ७ मल्ममा चुनावी कार्यक्रमको सरगर्मी बढाएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सयौंको टोलीले चुनावी प्रचार प्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

मंगलबार मल्मको बाह्रमुरी, बिसारेडाँडा, बतासेडाँडा, साहानीडाँडा र भल्साङमा अभियान सम्पन्न गरेको गठबन्धनले बुधबार सिरबारे, मल्मडाँडा, आरानटोल, म्याले, सानोखोला, खोलापारी र सुन्तलारुखमा चुनावी कार्यक्रम तथा घरदैलो सम्पन्न गरेको नेपाली काँग्रेसका वडा समिती सभापति वसन्त केसीले जानकारी दिनुभयो । सोमबारदेखि औपचारिक रुपमा चुनाव प्रचार अभियान थालेको गठबन्धनले वडाको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार भोट हाल्न अपिल गरेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानलाई तहसनहस पार्न २/२ पटक संसद विघटन गरेको, जनतालाई झुटा आश्वासन र भ्रम छर्दै जनताले लामो समय संघर्ष र बलिदानी गरेर ल्याएको गणतन्त्र र अन्य उपलब्धी गुम्ने खतरा रहेको कारण प्रतिगमनको लडाई लडन गठबन्धन जनताको मोर्चाको रुपमा अगाडी बढेको नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का वडा समिती सचिव बाबुराम थापाले बताउनु भयो ।

गठबन्धनले आफ्ना उम्मेदवार सहित मतदाताको घरघरमै पुगेर मत मागिरहेको छ । प्रचार प्रसार अभियानमा गठबन्धनका नेता र उम्मेदवारले वडाबासी नागरिकका गुनासा सँगै आगामी ५ वर्षको लागि सुझाव सल्लाह समेत मागिरहेको छ राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो ।

गठबन्धनले आम नागरिकमा एक ढिक्का भएर चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई आग्रह रहेको छ । मल्ममा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा संयुक्त गठबन्धनमा छन ।

गलकोट नगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा राज थापा, सदस्यमा छविलाल दर्जी, दलित महिला सदस्यमा यानु विक, नेपाली काँग्रेसबाट सदस्यमा ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशुधा थापा महिला सदस्यको उम्मेदवार रहेका छन ।

चुनावको दिन नजिकिए सँगै गठबन्धनमा रहेका राजनैतिक दलले मल्ममा चुनावी प्रचारलाई तीव्र पारेको नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष ललित मरासिनीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर