वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा लगिने

Posted By OS Nepal || Date: 18 October, 2016

काठमाडौँ, २ कात्तिक । बंैकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । sambidansava-BICC-samsad-60समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गर्नुभयो ।

वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उहाँको भनाइ थियो । “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । अर्थसचिव डा शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताउनुभयो । त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!