सडक सञ्जालले जोडियो बडिगाड,खुशी भए गाउँले — OSNepal

सडक सञ्जालले जोडियो बडिगाड,खुशी भए गाउँले

LC (KTM) May 05, 2022 0

बलेवा, २२ वैशाख-पाँच वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्नुहुन्छ । बागलुङको वडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन ।

सिसाखानीमा पुगेको सडकले पुन र उहाँका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् । मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पु¥याउन निकै लामो समय सास्ती खेपे ।

घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पु¥याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । “मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ”, उहाँले भन्नुभयो, “यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन् ।”

वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो । स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ ।

वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० वटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ ।

“सडक पहुँच पुगेको छ”, स्थानीयवासी पुनले भन्नुभयो, “यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौँ ।”

“विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौँ”, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भन्नुभयो, “सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ ।”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर