वाणिज्यमन्त्री थकालीसँग अमेरिकी राजदूतको भेट

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौँ, ३ कात्तिक । वाणिज्यमन्त्री रोमी गौचन थकालीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको सो भेटमा द्विपक्षीय व्यापार लगानी र विकास सहयोगलाई प्रोत्साहन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री थकालीले नेपालको लोकतान्त्रिक प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गर्ने कार्यमा अमेरिकी सरकारबाट भएको सहयोगको प्रशंसा गर्दै दुवै मुलुकबीच विगत सात दशकदेखि रहिआएको सुमधुर द्विपक्षीय कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्नुभएको थियो ।

मन्त्री थकालीले नेपालको पूर्वाधार विकास तथा विभिन्न परियोजनामा अमेरिकाले गर्दै आएको सहयोग र सद्भावको उच्च प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राजदूत टेप्लिजले मन्त्री थकालीको कार्यकालमा दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध र व्यापार लगानी अझ राम्रो हुने विचार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

राजदूत टेप्लिजले नेपालको पर्यटन, जलविद्युत् र कृषिमा आधारित उद्योगमा अमेरिकी लगानीकर्ता र उद्यमीले लगानीले वृद्धि गर्ने विश्वास दिलाउनुभयो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!