शुचौपायासहित गर्मी छल्न तिङ्कर उक्लदै खलङ्गाबासी — OSNepal

शुचौपायासहित गर्मी छल्न तिङ्कर उक्लदै खलङ्गाबासी

LC (KTM) May 05, 2022 0

दार्चुला, २३ वैशाख – व्याँस गाउँपालिका–१ खलङ्गाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन् । छ महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु तिङ्कर गाउँ पुगेका हुन् । व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला छ महिनापछि खुल्न थालेको हो । “पाँच परिवार तिङ्कर पुगिसकेका छन्,” स्थानीय दानसिंह तिङ्करीले भन्नुभयो, “३५ परिवार खलङ्गाबाट मंगलबार हिडेका छन् उनीहरु बाटोमा छन् ।” सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ ।

भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन् । खलङ्गाबाट हिडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि, पाँचौँ दिन छाङ्गरु र छैटो दिन तिङ्कर पुगिन्छ । पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ । तर, हाल स्थानीय भने पाँच÷छ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन् ।

भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा सङ्कलनको कामसमेत हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् । तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिङ्कर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ ।

स्थानीय छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिङ्कर बस्छन् तर, तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलङ्गामै छ । यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्दै आएको थियो । प्रहरी टोली तिङ्करतर्फ जाने तयारीमा रहेको जनाइएको छ ।
निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनको लागि मतदान केन्द्र पनि तिङ्करमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिङ्कर पठाउने तयारी भएको बताउनुहुन्छ । “हामीले प्रक्रिया बढाइसकेका छौँ”ं उहाँले भन्नुभयो, “तर हेलिकप्टर कहिले आउँछ भन्ने एकिन भएको छैन ।”

प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको डिएसपी विष्टले बताउनुहुन्छ । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको थियो । विष्टका अनुसार प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरि पहल भइरहेको छ ।

छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरी बस्दै आएको छ । साथै, सशस्त्र प्रहरी टोली पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट ९बीओपी० भवन निर्माण गरिएको थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर