कांग्रेस निकट अपराधी पक्राउ गर्ने एसपीलाई गृहमन्त्रीले बोलाएर स्पष्टिकरण सोधे

Posted By OS Nepal || Date: 19 October, 2016

Bimalendra-Nidhiपर्साः अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी उपरीक्षक ( एसपी) राजबाबु श्रेष्ठलाई गृहमन्त्री बिमलेन्द्र निधिले पर्साबाट गृहमन्त्रालयमै बोलाएर स्पष्टिकरण सोधेको सार्वजनिक भएको छ ।

गैर कानुनी रुपमा चर्को ब्याजमा कर्जाको लेनदेन र अवैध हुण्डीको कारोबार गरेको आरोपमा पक्राउ परेकालाई छाड्न नमानेपछि पर्साका एसपी श्रेष्ठलाई गृहमन्त्रालयमा झिकाइएको हो ।

अवैध हुण्डीको कारोबार गर्नेलाई नछाडेको भन्दै सत्तारुढ कांग्रेसका स्थानीय नेता र उद्योगीले गृहमन्त्रीलाई दबाब दिएपछि श्रेष्ठलाई गृहमन्त्री निधिले मन्त्रालयमा बोलाएका हुन् ।

पर्सा प्रहरीको स्रोत अनुसार गृहमन्त्रीको दबाबमा नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट गत आइतबार साँझ एसपी श्रेष्ठका नाममा पत्र वीरगन्ज पुगेको थियो ।

पत्रमा एसपी श्रेष्ठलाई गृहमन्त्रालयमा मङगलबार बिहान ११ बजे उपस्थित हुन भनिएको थियो । प्रहरीको केन्द्रीय कार्यालयबाट पत्र पाएपछि श्रेष्ठ मङगलबार गृहमन्त्रालयमा हाजिर भएका छन् । प्रहरी स्रोतका अनुसार कार्कीले मंगलबार गृहमन्त्री बिमलेन्द्र निधी समक्ष स्पष्टिकरण समेत दिइसकेका छन् ।

गृहमन्त्रीको ठाडो हस्तक्षेप प्रहरी प्रशासनमा भए पनि प्रंहरीले भने यो स्वीकार गरेको छैन् । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा ब्रिफिङ गर्न प्रहरी केन्द्रीय कार्यालयले प्रहरी उपरीक्षक श्रेष्ठलाई बोलाएको बताए ।

काठमाडौँमा रहेका प्रहरी उपरीक्षक श्रेष्ठले भने पटकपटक सम्पर्क गर्दा आफू मिटिङमा व्यस्त भएको बताउदै कुनै जानकारी दिएका छैनन् ।

वीरगन्जबाट गत असोज १६ गते प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका मुख्य कारोबारीसहित पाँच जनालाई ८१ लाख नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा भारतको मुजफरपुर स्थायी घर भएका ५५ बर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० बर्षीया उषा गोयन्का, छोरा ३२ बर्षीय विक्की भन्ने अकुंर जैन, पर्साको लंगडी गाविस १ घर भएका ३३ बर्षीय सुनिल कुमार पटेल र वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ प्रगतीनगरका २३ बर्षीय जीवन ठाकुर रहेका छन् ।

वीरगन्ज उपमहानगरपालिका ७ रेशमकोठीमा अवस्थित सन्तोष जैनको घरमा उनकी श्रीमती उषा गोयन्काको नाममा दर्ता रहेको न्यु नेहा ओभरसीजमा गत असोज १६ गते दिउँसो छापा मारेर जैन दम्पत्तिसहित पाँच जनालाई नगद रकम र चेकसहित पक्राउ गरेको थियो ।

प्रहरीले पाँचै जनालाई अदालतबाट २० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ । यद्यपी वीरगन्जका कांग्रेस नेता र उद्योगीले भने सन्तोष जैन र उनका छोरा अन्कुर दोषी भए पनि सन्तोषकी श्रीमती उषा भने निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!