देउवालाई फेरि आइपुग्यो अर्को संकट

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौं, ३ कात्तिक । सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् । आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । Sher_Bahadur_Dauba_700

 

तीनपटक गरेर ११ केन्द्रीय सदस्य मनोनीत गरे पनि अझै १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । दुई महिनाभित्रै गठन गर्नुपर्ने ३० विभाग, केन्द्रीय कार्यसम्पादन समितिजस्ता पार्टीका प्रमुख संयन्त्रलाई पनि पूर्णता दिन देउवाले सकेका छैनन् । पार्टी प्रवक्ता चयन गर्न पनि उनले ढिलाइ गरेका छन् ।

केन्द्रीय समिति बैठक विहीबारदेखि सुरु हुदैछ । सभापति देउवाले बैठकमा पदाधिकारी मनोनयन प्रस्ताव लैजाने सम्भावना कम छ । देउवाले यसअघि उपसभापति थाति राखेर अन्य पदाधिकारी मनोनयनको तयारी गरेका थिए । तर, नेता खुमबहादुर खड्काले उपसभापतिमा आश्वासन दिइएकाले आफूले पाउनुपर्ने दाबी गर्दै आएकाले उनलाई असन्तुष्ट बनाएर अन्य पदाधिकारी मनोनयनको प्रस्ताव देउवाले वैठकमा नलग्ने एक केन्द्रीय सदस्यले बताए ।

‘उपसभापतिमा खुमबहादुरको दाबी कम भएको छैन । उपसभापति थाती राखेर महामन्त्री मात्र बनाउन पनि उनी तयारी हुँदैनन् । आफू नै उपसभापतिको दाबेदार रहनेले महामन्त्रीको प्रस्ताव पास हुन दिंदैनन्,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘केन्द्रीय समितिको निर्वाचित ६४ पदमा देउवा पक्षका ३६ र पौडेल पक्षका २८ सदस्य रहेकाले पदाधिकारी पास गर्न खुमबहादुर पक्षका केन्द्रीय सदस्य निर्णायक हुन्छन् ।’

केन्द्रीय समितिमा प्रस्ताव लैजाने प्रक्रिया एउटै भएकाले छुट्टाछुट्टै समयमा प्रस्ताव आउन गाह्रो रहेको ती सदस्य बताउँछन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी आफैँले बनाएको विधानलाई नेताहरूले समयमै कार्यान्वयन गर्नुपर्ने बताउँछन् । ‘नेताहरूले आफैँले बनाएको विधानलाई पालना गर्नुपर्छ, यसरी चल्दैन,’ भण्डारीले नयाँ पत्रिकासँग भने, ‘समयमै सबै संयन्त्रलाई पूर्णता दिएर पार्टी जीवन्त, संस्थागत र चलायमान बनाउनुपर्छ ।’

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!