समयमै पुल निर्माण गर्न सडक डिभिजनसँग माग

Posted By OS Nepal || Date: 19 October, 2016

काठमाडौँ, ३ कात्तिक । अरुण नदीको निर्माणाधीन पक्की पुल पाँच वर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरिकले तुम्लिङ्टार सडक डिभिजन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । भोजपुर र सङ्खुवासभा सिमानाको ‘तुम्लिङ्टार लम्छुवा दिङ्ला’ जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि स्थानीयले एक वर्षभित्र सम्पन्न हुनेगरी काम अघि बढाउन आग्रह गर्दै ज्ञापन बुझाएका हुन् । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०६८ मङ्सिरमा शिलान्यास भएको सो पुललाई जिल्लाका राजनीतिक दलका नेताले सम्पन्न गराउनेभन्दा पनि चुनावी नारा मात्र बनाएको स्थानीयको आरोप छ ।

नागरिक अगुवा एवम् बुद्धिजीवी सुमन लम्सालको संयोजकत्वमा गएको नागरिकको समूहले सडक डिभिजन कार्यालय तुम्लिङ्टारमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनमा एक महिनाभित्र जनताले अनुभूति पाउनेगरी पुल निर्माण कार्य अगाडि बढ्नुपर्ने, दिएको समयसीमाभित्र पनि आफ्ना माग सम्बोधन नभए सङ्घर्ष गर्ने चेतावनी दिइएको छ ।

ज्ञापन बुझ्दै सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण ओझाले नागरिकको माग जायज रहेकाले आगामी दिनमा कार्य अघि बढाउन सहज हुने बताउनुभएको पत्रकार अर्जुन अधिकारीले राससलाई जानकारी दिनुभयो । रु १४ करोड लागतमा पुल निर्माण कार्य दुई बर्ष अघिनै सम्पन्न हुनुपर्ने भएपनि राजनीतिक स्वार्थका कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत कष्ट बढेर रु २० करोड बढी पुगेको बताईन्छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!