‘संविधान संशोधन प्रस्तावमा एमालेले साथ दिन्छ’

Posted By OS Nepal || Date: 29 November, 2016

ajaya-shankar-nayakaकाठमाडौँः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रक्रियामा साथ दिने विश्वास लिएका छन् ।

मन्त्री नायकले संविधान संशोधनको प्रक्रियाबाट एमालेलाई बाहिर राख्ने चाहना सरकारको समेत नभएको प्रष्ट पारेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिपक्षी एमालेसहितका दलहरुको सहमति र सहकार्यमा संशोधन प्रस्ताव दर्ता गर्ने चाहना राखेको उनले बताए । सरकारले संशोधनबाट एमालेलाई बाहिर राख्नेतिर भन्दा देशलाई निकास दिनका लागि एमालेबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको उनको भनाइ छ ।

‘सरकारले प्रतिपक्षी एमालेलाई बाहिर राखेर संशोधन प्रस्ताव गर्ने चाहना राखेको छैन र त्यतातिर हाम्रो दिमाग पनि छैन’ उनले भने, ‘एमालेलाई बाहिर राखेर सरकारले संशोधन प्रस्ताव दर्ता गर्ने कुरा आएको छ भने त्यो हल्ला मात्रै हो’

नयाँ संविधान जारी गर्न माओवादी केन्द्रले खेलेजस्तो भूमिका अहिले एमालेले खेल्न आवश्यक भएको मन्त्री नायकको भनाइ छ । ।
मन्त्री नायकले संशोधन प्रस्ताव दर्तापूर्व सरकारले मधेसी मोर्चा र संघीय गठबन्धनसँग निर्वाचनमा जाने प्रतिबद्धता खोजेको समेत प्रष्ट पारे ।

मधेसी मोर्चासम्मिलित संघीय गठबन्धनले संविधानले निर्दिष्ट गरेबमोजिम निर्वाचनमा जाने प्रतिबद्धता नजनाएसम्म संशोधन प्रस्ताव सम्भव नभएको समेत उनले बताए ।

‘हामीले संशोधन प्रस्ताव दर्ता गरेपछि सहमतिबिना प्रस्ताव दर्ता भयो, यसमा हाम्रो सहमति छैन भन्दै मोर्चा आन्दोलनमा गयो भने के हुन्छ ?’ मन्त्री नायकले प्रश्न गर्दै भने, ‘हामीले मोर्चासँग चुनावको प्रतिबद्धता खोजेका छौँ । उहाँहरुको प्रतिबद्धतापछि संशोधन प्रस्ताव दर्ता हुन्छ’

सरकारले मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी र सत्तारुढभित्रकै असन्तुष्टि पक्षसँग छलफल गरी साझा मिलनबिन्दुमा ल्याउन प्रयास गरिरहेको उनको भनाइ छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!