कारागारबाट भागेका सिख लडाकू कमान्डर पुनः पक्राउ परे

Posted By OSNepal, California, USA || Date: 29 November, 2016

sikhनयाँ दिल्ली, मङ्सिर १४ – प्रहरीको लुगामा आएका एक समूहले नाटकीय रूपमा कारागारबाट भगाएको एक दिनपछि एक सिख लडाकू कमान्डरलाई भारतीय प्रहरीले सोमबार राजधानी दिल्लीमा पुनः पक्राउ गरेको छ।

सिख पृथकतावादी समूहका प्रमुख हर्मिन्दर सिंह मिन्टुलाई पञ्जावको उच्च सुरक्षायुक्त कारागारबाट करिब २०० किलोमिटर पर दिल्लीको बाहिरी भागमा पक्राउ गरिएको थियो। मिन्टुलाई आतङ्कवादको आरोपमा कारागारमा राखिएको थियो।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकारी ए.एस. चाहलले मिन्टुलाई दिल्लीमा बिहान पक्राउ गरिएको र पञ्जाव ल्याइने जानकारी दिए।

मिन्टुसँगै भागेका अन्य चार अझै फरार रहेको चाहलले बताए। उनीहरूमाथि हत्याको आरोप लागेको थियो।

खालिस्तान लिबरेसन फोर्सका नेता मिन्टु पञ्जावमा शिख राज्यका लागि कार्य गर्थे र निजलाई सन् २०१४ मा पक्राउ गरिएको हो।

आइतबार प्रहरीको लुगामा आएका १० सशस्त्र व्यक्तिको समूहले मिन्टुलाई भगाएको हो। उनीहरूले एक सुरक्षाकर्मीमाथि धारिलो हतियार प्रयोग गरी बन्दी लिइ गाडीमा भाग्दा गोली चलाएका थिए।

यस घटनामा तीन प्रहरी घाइते भएका थिए भने त्यसपछि उनीहरूको व्यापक खोजी भएको थियो।

यसबीच कारागारको केही माइल पर एक गाडीलाई प्रहरीले एक चौकी अगाडि रोक्न खोज्दा नरोकी भाग्दा प्रहरीले चलाएको गोलीबाट एक महिलाको मृत्युभएको छ। यो घटना मिन्टुको भगाइसँग सम्बन्धित नभएको प्रहरीले जानकारी दिएको छ।

मिन्टुका बारेमा जानकारी दिने व्यक्तिलाई २५ लाख दिने घोषणा भएको थियो। मिन्टु कारागारबाट भागेपछि कारागारका तीन प्रमुख अधिकारीलाई बर्खास्त गरिएको थियो।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!