थाइल्यान्डमा मन्त्रिपरिषद्ले राजकुमारलाई नरेश बनाउने मार्ग खोल्यो

Posted By OS Nepal || Date: 29 November, 2016

थाइल्यान्ड, १४ मङ्सिर । थाइल्यान्डको मन्त्रिपरिषदले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उहाँको नाम संसदमा प्रस्तुत गरेको छ । यसबाट युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि यस मुलुकको नरेश बन्ने मार्ग खुला भएको छ । व्यापक रूपमा सम्मान गरिनुभएका नरेश भुमिबोल अदुल्यादेजको अक्टोबर १३ मा देहावसान भएको थियो । उहाँले यस मुलुकलाई सात दशकसम्म शासन दिनुभएको थियो भने उहाँलाई निकै विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो ।thai-king

युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशको रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गर्नुभएको सैनिक सरकारले घोषणा गरेको थियो । मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ ।

थाइल्यान्डको राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उपप्रधानमन्त्री प्रावित वङसुवानले उत्तराधिकारीसम्बन्धी प्रक्रिया अनेकौँ चरणमा सम्पन्न हुने बताउनुभयो । मन्त्रिपरिषद्को विशेष बैठकपछि उहाँले पत्रकारहरूलाई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय संसदीय सभालाई सूचना दिने जानकारी दिनुभयो ।

यस प्रक्रियाअनुसार संसदको सभामुखले युवराजलाई नरेश बन्न औपचारिक रूपमा निमन्त्रणा गर्नुपर्छ र यसपछि मात्र नरेशका विषयमा सार्वजनिक रूपमा घोषणा हुनसक्छ । उपप्रधानमन्त्री प्रावितले संसदका अध्यक्षले युवराजलाई भोलि वा पर्सि भेट गर्नुहुने जानकारी दिनुभयो । भेटको केही समयपछि नै नरेशको घोषणा हुने अनुमान गरिएको छ ।

चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो । उहाँ बढी समय मुलुकबाहिर बिताउनुहुन्छ । जर्मनीको दक्षिणी भागमा उहाँको सम्पत्ति छ । एक सैनिक स्रोतले युवराज हाल जर्मनीमै रहेको एएफपीलाई जानकारी दियो । थाइल्यान्डमा राजाको मानहानिसम्बन्धी कडा कानुन रहेको छ र युवराजले विश्वको सबैभन्दा धनी राजसंस्थाको उत्तराधिकारी पाउनुहुने बताइएको छ ।

यस कानुनले राजपरिवारको भूमिकाको विषयमा थाइल्यान्डमा खुला छलफल गर्न असम्भव बनाएको बताइन्छ ।औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ । सात दशकसम्मको शासनमा भूमिबोलले सम्भ्रान्त तथा विशेष गरी थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गर्नुभएको थियो र उहाँले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाउनुभएको थियो ।

यसो भए पनि युवाराज भाजिरालोङकोर्नले निकै विभाजित मलुक प्राप्त गर्नुभएको छ । गत दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने यहाँ असमानता अझै गहन भएको देखिएको छ ।सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो । तालिमप्राप्त विमानचालक रहनुभएका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ ।

उहाँले तीनपटक सम्बन्ध विच्छेद गर्नुभएको छ र प्रहरीको भ्रष्टाचारका विषयमा उहाँका पूर्व परिवारको नाम जोडिने गरेको छ । नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिनुभएको छ तर कुनै सार्वजनिक भनाइ राख्नुभएको छैन ।

एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पनुभएको छ । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहि¥याउने चलन छ । एएफपी

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!