लालपुर्जा नहुँदा पीडितको रुवाइ

Posted By OS Nepal || Date: 29 November, 2016

भक्तपुर, १४ मङ्सिर । लाभग्राहीका सूचीमा नाम समावेश भए पनि लालपुर्जाका कारण अनुदान सम्झौता गर्न नपाएपछि भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया आफ्ना पक्षमा नभएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानवअधिकार सञ्जालको समन्वयमा आज भ चाँगुनारायण नगरपालिका– १ छालिङमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितले गुठी, मोहीयानी हक, श्रीमान्को मृत्युपछि श्रीमतीको नाममा आउन बाँकी जग्गा, अंशबन्डा लगायत समस्या देखाउँदै अनुदान सम्झौताबाट आफूहरुलाई वञ्चित गराइएको गुनासो गरेका छन् ।

चाँगुनारायण नगरपालिका– १ छालिङकी पुतली बाटाले भूकम्पपछि छाप्रोमा बस्दै आए पनि घर बनाउन अनुदान नपाएको जनाउँदै न्याय दिन माग गर्नुभयो । उहाँले रुँदै भन्नुभयो–“श्रीमान्ले अर्की श्रीमती ल्याएर बसेका छन्, म बसेको घर भूकम्पले भत्काएपछि छाप्रोमा बस्दै आएकी हुँ, श्रीमान्ले अंश नदिँदा र घर बनाउन मन्जुरीनामा समेत नदिएपछि अनुदान सम्झौता गर्न पाइन, मलाई न्याय देऊ ।”

“भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आएका छाँै, छोराको जागिर छैन, चिसोले रोग लाग्दा उपचार गर्ने पैसा पनि छैन”, छालिङकै वृद्धा डल्ली नगरकोटीले आँखाबाट आँसु झार्दै भन्नुभयो–“आफ्नो नाममा जग्गा छैन, मोहीले मञ्जुरीनामा दिँदैन, लाभग्राहीमा नाम भएपछि सम्झौता हुँदैन भन्छन्, हामी गरिबले कसरी बनाउने घर ?’

चाँगुनारायण– १ छालिङका बुद्धराम बाटाले लालपुर्जा अनिवार्य गर्दा धेरै भूकम्पपीडितले सरकारले दिने अनुदान पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । उहाँले आक्रोश पोख्दै भन्नुभयो–“भूकम्पपीडितलाई रु ५० हजार दिन किन लालपुर्जा चाहिने, यो कस्तो न्याय हो, घर भत्किएर बस्ने ठाउँ नभएकाले अनुदान दिने व्यवस्था गर ।’

चाँगु– २ का दिनेश लागेजु र श्रीभक्त चाकुटले वडा कार्यालयमा सम्झौताका लागि कागजी समस्या बढी देखाएर झुलाउने गरेको गुनासो गर्नुभयो । छालिङकै विमला नगरकोटीले रु ५० हजारको अनुदानले घरको जग हाल्न पनि नपुग्ने जनाउँदै सबै रकम एकै पटक दिन माग गर्नुभयो ।
सहभागी चाँगुका पूर्णबहादुर खत्री, राम बानियाँ, भीमबहादुर थापा, रोशनी गिरी, श्यामकृष्ण लागेजू, साहिँली थापा मगर लगायतले मोही तल्सिङ भएको जग्गाको लालपुर्जा, गुठीको जग्गा अस्थायी लालपुर्जा भएकालाई पनि अनुदान सम्झौता गर्नुपर्ने माग गर्नुभयो ।

राम बानियाँले सगोलमा लालपुर्जा भएकालाई अनुदान नदिने नीति गलत हो भन्दै यसलाई नसच्याए चाँगुनारायण नगरपालिकाका ७५ प्रतिशत भूकम्पपीडितले सरकारको अनुदान नपाउने बताउनुभयो ।

लामलिला थापाले ससुराका नाममा लालपुर्जा भए पनि अनुदान नपाएको गुनासो गर्दै भन्नुभयो–“ससुराको नाममा लालपुर्जा छ, सासूको नाममा नामसारी भएको छैन, सासू पहिलो अंशियार भएकाले सासूको नाममा सम्झौता गर्न पनि कर्मचारीले मानेनन् ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईँले भूकम्पपीडितका साना र सामान्य समस्या पनि समाधान नभएको गुनासो बढ्नु राम्रो होइन भन्दै प्राविधिक र नीतिगत समस्या समाधानका लागि सम्बन्धित निकायले समाधान खोज्नुपर्ने औँल्याउनुभयो ।

नेपाली काँग्रेसका प्रतिनिधि सुभद्रा काफ्लेले लाभग्राहीको सूचीमा धेरै पीडितको नाम छुटेकाले विवरण थप गर्न माग गर्नुभयो । मानवअधिकार सञ्जालका संयोजक जुना बस्नेतले पीडितका धेरै समस्या देखिएको र डेढ वर्षसम्म पनि भूकम्पपीडितको मानवाधिकार प्रत्याभूत हुने अवस्था सिर्जना नभएकामा चिन्ता व्यक्त गर्नुभयो । प्राथमिक स्वास्थ्य केन्द्र छालिङका इन्चार्ज अनिलराज ढुङ््गेलले पीडितका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!