नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक सम्पन्न

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ, १५ मङ्सिर । नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक आज परराष्ट्र मन्त्रालयमा सम्पन्न भयो ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेतृत्व गर्नुभएको थियो । बैठकमा दुवै देशका परियोजना कार्यान्वयन निकायका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले गत भदौमा गर्नुभएको भारतको राजकीय भ्रमणका अवसरमा दुई देशबीच सञ्चालनमा रहेका आर्थिक र विकास परियोजनाहरुको पुनरावलोकन तथा शीघ्र कार्यान्वयनका लागि आवश्यक पहल गर्न निगरानी संयन्त्र स्थापना गर्ने सहमति भएको थियो ।

बैठकमा भारत सरकारको सहयोगअन्तर्गत कार्यान्वयनमा रहेका अन्तरदेशीय रेल्वे परियोजना, एकीकृत चेकपोस्ट, अन्तरदेशीय प्रशारण लाइन, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, हुलाकी सडक, पुनःनिर्माणलगायतका परियोजनाहरुको प्रगतिको पुनरावलोकन गरिएको थियो ।

सौहाद्रपूर्ण वातावरणमा भएको सो बैठकमा दुवै देशका प्रतिनिधिमण्डलका प्रमुखहरुले द्विपक्षीय आर्थिक र विकास परियोजनाहरुको कार्यान्वयनमा देखिएका कठिनाइहरुलाई समाधान गर्दै समयमै सम्पन्न गर्ने कुरामा जोड दिनुभएको थियो । संयन्त्रको अर्को बैठक आगामी माघमा हुने परराष्ट्र मन्त्रायले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!