बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा — OSNepal

बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा

LC (KTM) June 02, 2022 0

चितवन, १९ जेठ -गत माघदेखि देखापरेको बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा रहेको छ । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षति व्यहोरेका जिल्लाका कृर्षकले रु २६ करोड राहत पाउनुपर्ने हुन्छ । जिल्लामा चार महिनामा देखिएको बर्डफ्लुका कारण तीन लाख ५८ हजार ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो । ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई आठ वटा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा नष्ट गरिएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको विवरण सङ्कलनको काम भइरहेको भए पनि क्षतिपूर्तिका लागि कार्यविधि नबन्दा राहत पाउने÷नपाउने भन्ने विषय अन्योलमा रहेको उहाँले बताउनुभयो ।

राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रष्टसँग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषक समस्यामा परेको उहाँको भनाइ छ ।
सङ्क्रमण रोगमा बिमा आकर्षण नहुँदासमेत कृषकले ठूलो क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राहत दिनुपर्ने हो । तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छाँै ।” प्रदेश सरकार वा सङ्घीय सरकार कसले पीडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमा नै रहेको उहाँले बताउनुभयो ।

जिल्लामा पहिलो पटक विसं २०७८ माघ २८ गते पूर्वी चितवनको राप्तीस्थित अनिता पशुपक्षी तथा कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । पछिल्लो पटक वैशाख २४ गते भरतपुर १६ को बुद्धिमाया गुरुङको फार्ममा बर्डफ्लु देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर