किन रोकियो प्रहरीमा बढुवा ? ७ सय प्रहरी अधिकृत अन्यायमा

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं,मंसिर १५ – नेपाल प्रहरीभित्र समयमै बढुवा नहुँदा तीन दर्जन सिनियर अधिकृत र ७ सयभन्दा बढी जुनियर अधिकृतको वृत्ति विकासमा असर परेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) एक, प्रहरी उपरीक्षक (एसपी) १३, प्रहरी नायब उपरीक्षक (डीएसपी) १६, प्रहरी निरीक्षक (इन्सपेक्टर) १ सय ६, प्रहरी नायब निरीक्षक (सई) १ सय ८ र ६ सय ४७ जना प्रहरी सहायक निरीक्षक (असई) को वृत्ति विकासमा असर परेको हो ।

समयमै बढुवा समितिको बैठक बस्न नसक्दा खाली रहेको दरबन्दीमा कसैको पनि पदपूर्ति हुन सकेको छैन । समयमै पदपूर्ति नहुँदा प्रहरी संगठनभित्र निराशासमेत छाएको छ । १५ साउन २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीआईजी गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि २० साउन २०७१ मै उनी निलम्बित भएका थिए । प्रहरी नियमावलीअनुसार ६ महिनापछि उनको स्थानमा बढुवाको प्रक्रिया अघि बढाउनुपर्नेमा अहिलेसम्म बढुवा नगर्दा अन्य सबै तहमा असर गरेको हो । एसएसपीहरू गणेश केसी, रमेश भट्टराई, लव विष्ट, केदारमानसिंह भण्डारीमध्येबाट एकजना बढुवा हुनुपर्ने थियो । यस विषयमा लोकसेवा आयोग र गृह मन्त्रालयले पूर्णतः बेवास्ता गर्दा यस्तो अवस्था आएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लोक सेवा आयोगमा प्रहरी प्रशासन हेर्ने वृन्दा हाडाले चासो नदिँदा झन्डै ७ सय प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो । डीआईजी भण्डारीको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ । यसअघि डीआईजी बढुवा समितिको बैठक बसेको भए वा सिफारिस भएको भए ६ महिनाअघि नै प्रतिस्पर्धीमध्ये एक डीआईजीमा बढुवा हुन्थे । त्यसमुनिका दर्जाका लागि पनि बढुवा प्रक्रिया अघि बढ्ने थियो । १६ डीएसपीहरू एसपी हुने थिए भने २५ प्रहरी निरीक्षकहरू डीएसपीमा बढुवा भइसक्ने प्रधान कार्यालयका एक अधिकृतले बताए ।

स्रोतका अनुसार प्रहरीको प्राविधिकतर्फ डीआईजी ३, एसएसपी १०, एसपी ९, डीएसपी ३६, इन्सपेन्टर ९८, सई १ सय २६, असई ६३, हवल्दार ५ सय ३७, जवान ५ सय ८५ दरबन्दी खाली रहेका छन् । समयमै बढुवा नहुने भए पनि राम्राभन्दा आफ्ना मान्छेलाई बढुवाका लागि सिफारिस गर्ने गरेका कारण अहिले सुरक्षा निकायमा तोकिएको समयभन्दा पनि पहिला नै जागिर छोड्ने लहरसमेत चलेको छ ।

सुरक्षा निकायमा कार्यरत रहेका अधिकृतदेखि जवानसम्मले पेन्सन पाकेपछि वा विभिन्न कारणले जागिर छोड्ने गरेका कारण दरबन्दी रिक्त हुने गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीको भनाइ छ । डीआईजीको पाँचवर्षे पदावधिका कारण हेमन्त मल्ल ठकुरी, केशव अधिकारी र निलम्बित डीआईजी भण्डारी आगामी ६ पुसदेखि अनिवार्य अवकाश पाउँदै छन् । उनीहरूको स्थानमा बढुवा लागि सिफारिस गर्दा पनि समय अभाव हुने अवस्था छ । आजको राजधानी दैनिकमा खबर छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!