वैदेशिक सहायता प्रतिबद्धता दोब्बर

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं, मंसिर १५ – नेपालले विकास आयोजना सञ्चालन र सुधारका कार्यक्रम सञ्चालनका लागि विभिन्न दातृ राष्ट्र तथा निकायबाट पाउने सहयोग प्रतिबद्धता दोब्बर बढेको छ ।
चालू आवको ४ महिनासम्ममा नेपालले द्विपक्षीय र बहुपक्षीय गरी विभिन्न दातृ निकायबाट १ खर्ब १३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ३४ अर्ब २८ करोड ९७ लाख रुपैयाँ अनुदान तथा ७९ अर्ब ५० करोड रुपैयाँ ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालले एसियाली विकास बैंक (एडीबी), विश्व बैंकलगायत निकायबाट विकास आयोजना सञ्चालन गर्न ऋण तथा अनुदान प्राप्त गर्दै आएको छ । चालू आवमा ३ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक सहायता परिचालन गर्ने सरकारी लक्ष्य छ । राजस्व संकलनले चालू खर्च पनि धान्न नसकेपछि नेपालले विकास–निर्माणका लागि विभिन्न दातृ निकायबाट अनुदान तथा ऋण सहयोग लिँदै आएको अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनी बताउँछन् ।आजको कारोबारमा खबर छापिएको छ ।
मन्त्रालयका अनुसार गत आवको सोही अवधिमा नेपालले विभिन्न दातृ निकायबाट ६२ अर्ब ५५ करोड ७१ लाख रुपैयाँको मात्र सहयोग प्रतिबद्धता पाएको थियो । यसमध्ये १८ अर्ब ९७ करोड रुपैयाँ अनुदान र ५७ अर्ब ६६ करोड रुपैयाँ ऋण थियो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालको आन्तरिक र वैदेशिक गरी कुल ऋण १४ प्रतिशत बढेर ६ खर्ब २१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । एक वर्षमा कुल ऋण ७६ अर्ब ६३ करोड ८१ लाख रुपैयाँ बढेको कार्यालयले जनाएको छ । गत आवमा सरकारले अनुदान र ऋण गरी १ खर्ब ९६ अर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त गरेको थियो ।
यसैबीच, मन्त्रिपरिषद्को हालैको बैठकले पूर्वाधार विकासका लागि ३५ अर्बको वैदेशिक सहायता स्वीकृत गरेको छ । बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त ५ अर्ब ८८ करोड रुपैयाँ सहायता स्वीकृत गरेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त १३ अर्ब रुपैयाँ पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!