फोरजीमा कम्पनीहरूको प्रतिस्पर्धा

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौं, मंसिर १५ – दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पछिल्लो समय सेवा विस्तारसँगै आधुनिकीकरणको प्रतिस्पर्धामा छन् । सबै सेवा प्रदायकहरूको ध्यान यतिबेला फोरजी सेवामा केन्द्रित भएको छ । विश्वव्यापी रूपमा डेटा सेवाका प्रयोगकर्ता बढिरहेका बेला नेपाली कम्पनीहरूको पनि पछिल्लो प्रविधि एलटीई फोरजीमा प्रतिस्पर्धा देखिन थालेको हो ।आजको कारोबारमा खबर छापिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी सेवाका लागि अनुमति लिएका र लिने प्रक्रियामा रहेका कम्पनीहरूबीच प्रतिस्पर्धा देखिएको छ ।
नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम फोरजी सेवा सुरु गर्ने तयारीमा छन् । हालसम्म टेलिकमले फोरजी सञ्चालन अनुमति पाएको छ भने एनसेल र स्मार्टका सम्बन्धमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण अध्ययनको चरणमा छ । प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्याल टुजी, थ्रीजी हुँदै फोरजीमा सेवा प्रदायकहरूको आकर्षण बढिरहेको बताउँछन् ।
‘प्रविधिको विकास र आवश्यकतालाई मध्यनजर गरी सेवा प्रदायक कम्पनीहरू अब फोरजीमा जानुको विकल्प पनि छैन,’ उनले भने, ‘फोरजीमा प्रतिस्पर्धा हुँदा शुल्क घट्छ भने उपभोक्ताले गुणस्तरीय शुल्क पाउँछन् ।’ उनले १८०० मेगाहर्ज ब्याण्डमा एलटी फोरजी सेवा सञ्चालन सुविधाजनक हुने भएकाले दूरसञ्चार नीति २०७३ को संशोधनको दफा ५ बमोजिम टेलिकमलाई फोरजी सञ्चालनलाई अनुमति दिएको हो ।

रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोरजी सेवा चलाउन मिल्ने व्यवस्था गरेको छ । टेक्नोलाजी न्युट्रल गरेर सेवा सञ्चालन गर्दा टावर, ब्याकअप र अरु पूर्वाधारमा कुनै समस्या नपर्ने प्राविधिकहरू बताउँछन् ।
टेक्नोलोजी न्युट्रल गरेर सफ्टवेयर अपग्रेड र टावरमा चिप्स थप्नेबित्तिकै फोरजी चलाउन सक्ने कम्पनीका प्राविधिकहरूको भनाइ छ । सूचना, सञ्चार र प्रविधिका क्षेत्रमा भएको विकासले सर्वसाधारणको जीवन पद्धति सुधारमा सहयोगी भएको छ । छिमेकी भारत र चीनमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!