सप्तरीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, कुशाहामा आगलागी

Posted By OS Nepal || Date: 30 November, 2016

राजविराज, १५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा मङ्गलबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मंगलबार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई ट्याक्टरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कल्याणपुर–३ बस्ने २६ वर्षीय जगदेब सहनीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा हिजै मुत्यु भएको प्रहरीले बताएको छ ।

कुशाहामा आगलागी

यसैबीच, सप्तरीको कुशाहा गाविस–६ स्थित सिसुवाबेलीमा मङ्गलबार आगलागी हुँदा रु डेढ लाखको क्षति भएको छ ।स्थानीय भोलादेवी चौधरीको ५—कोठे पक्की घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने रामप्रसाद चौधरीले सञ्चालन गरेको खाद्य पसलबाट विद्युत चुहावट भई अचानक आगलागी भएको थियो ।

सो पसलभित्र रहेका स २ प ३१६५ नम्बरको मोटरसाइकल, एकथान साइकल तथा युरिया मल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!