संविधान संशोधन विधेयकको विरोधमा एमालेः संसदीय दलको बैठक बस्दै

Posted By OS Nepal || Date: 30 November, 2016

uml-cc-meetingकाठमाडौंः सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि भावी रणनीति तय गर्न एमालेको संसदीय दलको बैठक बस्दै छ ।

मंगलबार साँझ व्यवस्थापिका संसदमा संविधान संशोधन सम्बन्धी विधेयक दर्ता भएपछि एमालेले संसदीय दल र पदाधिकारीको बैठक डाकेको हो । बैठकले संविधान संशोधनको विपक्षमा कसरी कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने एमालेले जनाएको छ ।

एमाले संसदीय दलको बैठक दिउँसो १२ बजेका लागि सिंहदरबारमा बोलाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कसैको प्रायोजनमा संशोधन प्रस्ताव ल्याएको आरोप एमालेले लगाउदै आएको छ ।

मधेसी मोर्चाले भने संशोधन प्रस्तावको आलोचनात्मक समर्थन गरेको छ । यसकै आधारमा चुनावमा भाग लिन सकिने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीले मधेसी मोर्चाको साथ लिएर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

मंगलबार राती नौ बजे व्यवस्थपिका संसदमा दर्ता भएको संशोधन विधेयक परिपक्व हुन ५ दिन लाग्छ । संसदमा तत्काल कायम रहेका सबै सदस्य संख्याको दुईतिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा संशोधन विधेयक पारित हुनेछ ।

प्रचण्ड नेतृत्वको सरकारले मधेसी मोर्चा, नेपाली कांग्रेस र अन्य सत्तारुढ दलको समर्थनमा संविधान संशोधन विधेयक दर्ता गरेको हो । सरकारले भाषा, नागरिकता, प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा संशोधनको प्रस्ताव गरेको छ ।

संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ४ र प्रदेश नम्बर ५ को सीमाङ्कनमा हेरफेर गर्ने उल्लेख गरिएको छ । प्रस्ताव दर्ता भएको भोलीपल्ट अर्थात् बुधबार बिहानै प्रदेश नम्बर ४ र पाँचका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन सुरु भइसकेको छ ।

संशोधन प्रस्तावमा उल्लेख भए अनुसार प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासीको बर्दघाट सुस्ता पूर्व, रोल्पा, प्युठान र रुकुमको पूर्वी भागलाई राखिएको छ। यसैगरी नवलपरासी बर्दघाट सुस्तादेखि पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियालाई प्रदेश नम्बर ५ मा राखिएको छ।

एमालेले भने यो संशोधन प्रस्ताव राष्ट्रघाती हुने भन्दै त्यसको प्रतिवाद गर्ने बताएको छ । सत्तारुढ कांग्रेस र माओवादीकै प्रदेश नम्बर ४ र ५ का केही नेताले समेत यो संशोधन प्रस्तावको विरोध गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!