लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव,विद्यार्थी चिन्तित — OSNepal

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव,विद्यार्थी चिन्तित

LC (KTM) June 03, 2022 0

लमजुङ- पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो ।
मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ । हालसम्म पाँच वटा किताब किन्न पाए पनि चारवटा किताब किन्न नपाउँदा अध्ययनमा समस्या भइरहेको उनको गुनासो थियो ।

उनीमात्र होइन जिल्लाका हजारौँ विद्यार्थीको समस्या समस्य पनि उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा असर पारेपछि सुरु हुन लागेको नयाँ शैक्षिक सत्रको पढाइ पनि किताब अभावमा समस्या हुँदा विद्यार्थी चिन्तित बनेका छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराउँदा आफूहरुकोे भविष्यमाथि नै खेलबाड भएको विद्यार्थीको भनाइ छ । जिल्लामा पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई मात्र नभई शिक्षक शिक्षिकालाई समेत समस्या भइरहेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको सम्बद्ध शिक्षकको भनाइ थियो । बेँसीसहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भन्नुभयो, “पठनपाठन सुरु भएको यतिका समय हुँदासमेत अझै किताब उपलब्ध नहुँदा विद्यार्थीलाई मात्र नभई शिक्षकलाई समेत समस्या भइरहेको छ ।” पुराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउन थाले पनि कक्षा ४, ७ र ९ का विद्यार्थीलाई भने नयाँ कोष भएकाले बढी समस्या भइरहेको उहाँको भनाइ थियो ।

त्यस्तै सोही नगरपालिका–७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापाका अनुसार पुस्तक पसलमा किताब उपलब्ध नहुँदा आवश्यकताअनुसार विद्यार्थीले किताब पाएका छैनन् । जेठ ४ गतेदेखि पठनपाठन सुरु गरिएकामा किताब अभाव भएकाले विद्यार्थीलाई पढाइमा थप समस्या भइरहेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा र जिल्लामा समयमै किताब उपलब्ध नहुँदा विद्यार्थी दैनिक पुस्तक किन्न आउने विद्यार्थी रित्तै फर्किने गरेको पुस्तक पसलेको भनाइ थियो । केही विषयका आए पनि सबै विषयका पाठ्यपुस्तक उपलब्ध नभएको बताइएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको चर्को गुनासा आइरहे तापनि समाधान भने हुन सकेको छैन ।

केही विद्यालयले पुराना किताबबाट पठनपाठन गराएका र इन्टरनेटको सुविधा भएको विद्यालयमा इन्टरनेटबाट खोजेरसमेत पढाउने गरे पनि दुर्गमका विद्यार्थीलाई बढी समस्या भइरहेको उहाँले बताउनुभयो । जतिसक्दो छिटो आवश्यक किताब जिल्लामा उपलब्ध गराउनका लागि पहल भइरहेको उहाँले जानकारी दिनुुभयो । जिल्लामा सामुदायिक विद्यालय ३३६ तथा निजी ३३ विद्यालय छन् । विसं २०७८ सम्मको तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमा २५ हजार ८१० विद्यार्थी छन् भने निजीमा आठ हजार ४९२ विद्यार्थी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर