कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्प सोचौँ, नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाउऔं : गगन थापा — OSNepal

कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्प सोचौँ, नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाउऔं : गगन थापा

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै थापाले आफ्नै सरकारलाई जनतालाई तत्काल राहात दिन माग गरेका हुन् ।

समस्या पन्छाएर नबस्न पार्टीका सभापति समेत रहेका देउवाले आग्रह गरेका थापाले यसको समाधानको लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत समेत गराएका छन् ।

कोभिड र त्यसपछिको रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि आकाशिएकाले आउने दिनहरू झनै चुनौतीपूर्ण हुने सङ्केत देखिएको थापाले बताएका छन् ।

यसलाई हलुका रूपमा नलिन आग्रह गरेका थापाले भने, ‘म प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटायौँ । अरू घटाएर भए पनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि चाल्नुपर्छ । ‘

‘कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौँ ।नेपाललाई पेट्रोल, डिजल, एलपी ग्यास मुक्त देश बनाउन आजैबाट महत्त्वाकाङ्क्षी योजनाका साथ १० वर्षभित्रमा गर्ने भनेर लाग्यौँ भने बाँच्छौँ हामी ।’ थापाले अघि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर