पान पसलको भेटले चम्किएका अभिनेता प्राण — OSNepal

पान पसलको भेटले चम्किएका अभिनेता प्राण

LC (KTM) June 03, 2022 0

यो कुरा सन् १९३८ को हो । लाहोरको एक पान पसलमा उभिएका अभिनेता प्राणलाई जो व्यक्तिले भेटे, तिनै व्यक्तिले उनको भाग्य चम्काइदिए । उनी पान पसलमा उभिइरहँदा स्क्रिप्ट लेखक वली मुहम्मद वली पान खान त्यहाँ पुगेका थिए ।

वली एक पञ्जावी फिल्ममा खलनायकको भूमिकाका लागि एक युवा अनुहारको खोजिमा थिए । त्यही बेला वलीको नजर प्राणमाथि पर्यो र उनीप्रति चासो राखे ।

वलीले प्राणसँग कुराकानी अगाडि बढाए र एक सानो कागजमा आफ्नो ठेगाना लेखेर प्राणलाई दिँदै आफूलाई भेट्न भने । तर, प्राणले वली र उनले दिएको कागजको टुक्रालाई वास्ता नगरी ‘के म तपाईंको नाम थाहा पाउन सक्छु ?’ भनी प्रश्न गरे । वलीले ‘वली’ भनेपछि प्राणले ‘आधा रातमा केही घुरेपछि जोकोही आफूलाई वली नै सम्झन्छन्’ भन्दै आफ्नो बाटो लागे ।

त्यसको केही दिनपछि जब वलीको भेट प्राणसँग पुनः भयो, त्यो बेला वलीले प्राणलाई उनीसँगको भेट सम्झाइदिए र आफूलाई भेट्न किन नआएको भन्दै प्रश्न गरे । त्यसपछि प्राणले आफूलाई भेट्न खोजेको कारण सोधे । वलीले प्राणलाई ‘फिल्ममा काम गर्छौ ?’ भनेर सोधेपछि उनी केही बोलेनन् । तर, उनलाई भेटन सहमत भए ।

अन्ततः जब वलीसँग प्राणको भेट भयो, त्यो भेटपछि प्राण वलीको फिल्ममा काम गर्न ईच्छुक भए । त्यही इच्छाअनुरुप उनले पञ्जावी फिल्म ‘यमला जट’बाट फिल्मी यात्रा सुरु गरे ।

यो फिल्मपछि प्राणले वलीलाई आफ्नो गुरु माने । प्राणले पितालाई आफूले फिल्ममा अभिनय गरेको कुरा सुनाएनन् । पत्रिकामा पहिलो अन्तर्वार्ता प्रकाशित हुँदा उनले पत्रिका लुकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर