लालबाबु पण्डितलाई प्रश्न: बिदेशिएका नेपालीहरु देश द्रोही नै हुन त ?

Posted By OS Nepal || Date: 1 December, 2016

sargam-600– सरगम भट्टराई

लाल बाबु पण्डित मलाई अत्यन्त मन पर्ने नेता लाग्थ्यो, अझै पनि उनका धेरै पक्षहरु मलाई मन पर्छन् । लो प्रोफ़ाईलको मन्त्रालय सम्हालेर पनि चर्चामा आउने जनताका प्यारा मन्त्री । डि.भी. पि. आर. धारी कर्मचारीहरुलाई या त पि. आर. छाड या त जागिर छाड भनेर धेरै समय सम्म एक्लै लडिरहँदा मलाई उनीप्रति जति श्रद्दा थियो, त्यो श्रद्दा अहिले आएर क्रमश: कम हुँदा आफैलाई दुख लागेको छ । यद्यपी उहाँको ब्यक्तिगत सादगी जीवनको म प्रशंसक नै हूँ । दृढ ईच्छा शक्ति भएका धेरै लालबाबु हरु नेपाललाई चाहिएको छ ।

तर दुखको कुरा केहि दिन अघि हुनुपर्छ रिपोर्टर्स नेपालको कार्यक्रममा लाल बाबुले नेपाल छाडेर बिदेशिई बिदेशमा भोट हाल्नेलाई भू. पू. नेपाली भनेर भन्नुभएछ, त्यति मात्र हैन भू. पू. नेपालीले नेपालको बारेमा चिन्ता लिन र सोच्न नपर्ने भनेर समेत ठूलो ठूलो स्वरमा बोल्नुभएछ । बुझ्नेले कसरी बुझे, ताली पिटे तर मैले यसलाई नेपालीकै घोर अपमानको रुपमा बुझेको छु ।

देशले धेरै समस्याको भारी बोकेको छ , देशका समस्या भ्रष्टाचार, बेरोज़गारी, भौगोलिक बिकटता,संबिधानको कार्यान्वयन, अशिक्षा र अबिकास तथा असन्तुलित परराष्ट्र नीति भन्ने जान्दा जान्दै हाम्रा भू. पू. माननीय जता जता गएको देख्छु, त्यतै त्यतै बिदेशिएका नेपालीहरुको खेदो खनेकै देख्दा यी माननीयमा बिदेशिएकालाई सराप्ने बाहेक अरु बिज्ञता रहेनछ कि भन्ने शंका लागेको छ । तर यो शंका सत्य नठहरोस ।

आफ्नो देश छाडेर अरुको देशमा सबै रहरले र सबै करले जाँदैनन्, त्यस्तै बिदेशिने सबै राष्ट्रघाती र नेपालमा बस्ने सबै राष्ट्रवादी पनि हुँदैनन्। देशमै बसेर देशको ढुकुटीमा ब्रम्हलुट गर्नेहरुले राष्ट्रवादीको पगरी लगाएको पनि देखेकै हो ।
धेरै चोटी लालबाबुजी हरुलाई सोध्न मन लागेको छ: के तपाईले आफ्ना आफन्तहरु र कार्यकर्ताहरुलाई डि. भी. पि. आर. लिनबाट रोक्न सक्नुभएको छ? के तपाईका पार्टीका नेताहरुले आफ्ना छोरा छोरीहरुलाई युरोप अमेरिकाबाट फिर्ता बोलाएका छन् ? किन निजामति सेवा नियमावली परिवर्तन गराउन तपाईँलाई फलामको च्यूरा चपाउनु सरह भएको थियो ?

बिदेश गएको कुनै पनि नेपाली छ जस्ले नेपाली भएकोमा आत्मग्लानि गरोस् ? म ठोकुवा गरेर भन्छु ९९ प्रतिशत मान्छेहरु आफू जन्मेको प्यारो देश नेपालकै बारेमा चिन्ता गरिरहन्छन् ,नेपालको बिकृति र बिसंगति प्रति चिन्तित हुन्छन् र भएका छन् । परदेश जस्तो सम्पन्न घरदेश कहिले होला भनेर उनीहरु टोलाईरहेको कुरा लाल बाबुहरुलाई के थाहा ?

देशमा समस्याको चांग लगाउनेमा बिदेश तिर डि. भी. पि. आर. लिएका, लिन लाईन लागेका र उतै भोट गर्नेहरु पर्दैनन, उनीहरुले भोट हाल्दा नेपाललाई दुत्कारेर भोट हालेका पनि होईनन्, कसैको डर, प्रलोभन र धम्कीको कारणले भोट हालेका पनि हैनन्, कसैलाई सत्तारोहण गराउनका लागि बन्द हड़ताल गरेर टायर पनि बालेका छैनन्, कुनै दलको हनुमान बनेर काला बजारी पनि गरेका छैनन्, बरु देशमा असक्षमहरुले रज़ाई गरेर ध्वस्त पारेको अर्थतन्त्रलाई बेला बेलामा धानेकै छन् । कुनै देशको नागरिक भएपछि त्यहाँको पद्दति अनुसार भोट हाल्नु सामान्य कुरा हो । उनीहरुले नागरिकता लिँदा नेपाली मन र नेपाली पन बेच्ने प्रतिज्ञा पत्रमा पनि सहि गरेका छैनन् ।

अझ मलाई सोध्न मन लागेको छ: लाल बाबु ज्यूहरुले नेपालमा कार्यरत राजनैतिक नेता, कर्मचारी, शिक्षक र समाजसेवीहरुको चियों गरेर देशको नून खाएर बिदेशको नागरिकता लिने र बिदेशमा कालो धन थुपार्नेहरुको निद भंग गर्नु ठिक थियो तर आफ्नै बलबुतामा अमेरिका,क्यानडा,युरोप र अष्ट्रेलिया आएर मेहनत गरी अवसर खोज्नेहरुलाई सराप्नुको कारण के होला ?

लाल बाबुजीको दिमागमा प्रवासमा बसेका नेपालीहरु देश द्रोही हुन् भन्ने हो ? हो ! म मान्छु कि देशलाई अप्ठेरो परेको बेला स-शरीर हाज़िर हुन सकेनन् तर मानवीय रुपमा मनहरु नेपालमै राखेर बाँचेका छन् परदेशीहरु । देशमा आपत पर्दा दिल खोलेर सहयोग पनि गरेकै छन् , युरोप, अमेरिका बस्नेहरुले न नेपालको खाएका नै छन् बरु भएको गुमाएका छन्, आफन्तको माया बिना बाँचेका छन् ।

अझ मलाई चित्त नबुझेको कुरा वहाँलाई बेरोज़गार युवाको तथ्यांक थाहा रहेनछ, दाईजोका कारणले मारिने महिलाको तथ्यांक थाहा रहेनछ, आफ्नै देशमा बंशज नेपाली भएर पनि नागरिकता नपाउने र पैसाको भरमा नागरिकता किन्नेको तथ्यांक थाहा रहेनछ, भुकम्पले बेघर भएकाहरुको तथ्यांक थाहा रहेनछ, सुसासनको कारणले अंग अंग क्षत बिक्षत भएको तथ्यांक थाहा रहेनछ ।

तर अमेरिकामा साठी हजार भू. पू. नेपालीले भोट हाले भनेर मिथ्यांक बोकेर जता हिड्यो उतै बर्बराउनुको अर्थ के हो ? के ती नेपालीले नेपालको लिलामीको पक्षमा भोट हालेका हुन् र ? ढुक्क भए हुन्छ एकाध बाहेक तिनीहरु देशमा मौलाएको भ्रष्टतन्त्रमा भोट हाल्न नेपाल आउने छैनन् तर तिनीहरुलाई भू. पू. नेपाली भन्ने अधिकार लाल बाबुहरु लाई छैन । बिदेशिएका प्रति सहानुभूति राखेर मिठासपूर्ण बोलीले देशमा फर्कने वातावरण बनाउनु कता हो कता उल्टो चिढ्याउनुको कारण के हुन सक्छ होला ?

त्यसो त मिडियामा पनि एउटा अपुष्ट समाचार पनि आएकै हो: लाल बाबुले दर्जनौ पटक अमेरिकाको भिसा आवेदन गर्दा (बिभिन्न संस्थाहरु मार्फत) पनि अमेरिकाले भिसा नदिए पछि अमेरिका बिरोधी भएका हुन् रे ! सत्य के हो जवाफ आफै देलान लाल बाबुले ! यदि हो भने आफ्नो पहूँचमा नभएपछि स्यालले ह्या ! अंगुर अमिलो छ कस्ले खावोस भने जस्तै बाहेक के हुन सक्छ? म कामना गर्छु: यो खबर झूठो ठहरोस !

ग़ैर आवासीय नेपाली प्रति त्यति खनिनेले आज ग़ैर आवासीय नेपाली संगठनका धेरै परोपकारी कार्यक्रमहरु नेपालमा चलिरहँदा त्यसलाई पनि चाहिँदैन भन्न सक्नुपर्थ्यो, शेष घले र जीबा लामिछानेहरुलाई बहिस्कार गर्न सक्नु पर्थ्यो, भुकम्प पिडितलाई दुई बर्ष सम्म खुला आकाश मुनि सुताउँदा नखुलेका लालबाबुका आँखा अमेरिकामा नेपालीले भोट हाल्दा किन उघ्रिएका हुन् कुन्नि ?

किन देशलाई कसैको स्वार्थमा बिभाजनमा ल्याउने तयारी गरिरहँदा लालबाबुले बरु सत्याग्रह गर्न सक्नुपर्छ, किन मधेसमा भएको गरीबी, अन्धबिश्वास र अराजकता बिरुद्द लालबाबुहरु बोल्न सक्दैनन् ? के नेपालको मूख्य समस्या बिदेशिएका नेपाली नै हुन् त ?

अन्तमा,
देशका समस्या भनेका युरोप ,अमेरिका र अस्ट्रेलिया पसेका नेपाली होईनन्, पसिना बेच्न अरब उड्ने नेपाली हैनन्, बेरोज़गारी, शुसासन, भ्रष्टाचार र अबिकास हुन्, देशमा न्यूनतम मानवीय आवश्यकता सम्म पूरा गर्न नसक्ने सरकार, युवाहरुलाई अन्धकारमा राख्ने, हनुमान बनाएर टायर मात्र बाल्न प्रयोग गर्ने तर बिदेसिए, भोट हाले भनेर सत्तोश्राप गर्नु भन्दा बरु देशमा अवसरको सिर्जना गर्न बोल्ने गरौँ, अहिले पनि उचित लगानीको वातावरण भए हजारौँ नेपालीहरु नेपाल फर्कन्छन ।

तर के यहि यथास्थितिमै आफ्ना पूर्वाधारमा आगो लगाउन मान्छेहरु फर्कन्छन ? के डन,गुण्डाहरुलाई चन्दा दिन मान्छेहरु फर्किन्छन् ? के बन्द हड़ताल र अपहरण र बलात्कार खेप्न मान्छेहरु फर्कन्छन? के काला बजारी, घुस खोरी, कमिशनतन्त्र सहन मान्छेहरु नेपाल फर्कन्छन ? उनीहरुलाई हेपेर भू. पू. नेपाली भन्नु भन्दा पहिले देश चलाउने ज़िम्मा लिएकाहरुले देशमा न्यूनतम सुबिधाहरुको ग्यारेन्टी गर्नुपर्छ, पर्दैन ? न्यूनतम वातावरणको सिर्जना गर्ने निकायमा लालबाबुहरुले किन खबर्दारी गर्दैनन्, किन लालबाबुको नजर अन्य तिर नपरी एउटै कुरामा मात्र परिरहन्छ ?

मान्छे हरु धमाधम युरोप अमेरिका भाँसिनुको मुख्य कारण देशमा भएको कुशासन, शिक्षा, स्वास्थ्य, रोज़गार संचार,सडक, प्रबिधिमा चित्त नबुझेर र नअटाएर हो तसर्थ पहिले ती सूचकहरुमा सुको परिवर्तन नगरी मान्छेहरु बिदेशिए भनेर जता गयो त्यतै बर्बराउनु र प्रवासीहरुलाई भू. पू. नेपाली भन्नु हाम्रा भू. पू. मन्त्रीको अनबिज्ञता र उचित वातावरण पाए नेपाल फर्कनेहरुलाई चिढ्याउने बाहेक केहि होईन भन्ने मेरो ठहर हो ।

त्यसैले लाल बाबुहरुले बुझ्नै पर्छ: देश द्रोही उहाँले भनेजस्तै अमेरिकाको राष्ट्रपतीय चुनावमा भोट हाल्ने भू. पू. नेपाली होईनन्: बरु राज्यका धेरै अंग सम्हाल्नेहरु हुन् । प्रवासीहरु पनि आफू जन्मे हुर्केको देशलाई धेरै माया गर्छन्, उनीहरु मायाका भोंका हुन्छ, देशमा राम्रो वातावरण बन्यो भने धेरै मान्छे फर्कन्छन, त्यसैले चिढ्याउनु भन्दा मन छुने भाषा प्रयोग गरे राम्रो । लाल बाबुजीले गम्भिर भएर मनन गर्ने दिन आएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!