महोत्तरीमा जिल्ला समन्वय समिति गठनमा जसपा–कांग्रेस तालमेलको सम्भावना — OSNepal

महोत्तरीमा जिल्ला समन्वय समिति गठनमा जसपा–कांग्रेस तालमेलको सम्भावना

LC (KTM) June 04, 2022 0

२१ जेठ, महोत्तरी :

महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् ।

महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको गरी ३० जना मतदाता छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षबाहेकका मतदाता हुँदैनन् ।

निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा जनता समाजवादी पार्टी (जसपा) जिल्लामा सबैभन्दा ठूलो दल हो । जसपाका पाँच जना प्रमुख र छ जना उपप्रमुख छन् ।

त्यस्तै, दोस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पाँच जना प्रमुख र तीन जना उपप्रमुख छन् ।

नेपाली कांग्रेसले दुई प्रमुख, चार उपप्रमुख, नेकपा एमालेले एक प्रमुख, एक उपप्रमुख, तराई मधेस लोकताीन्त्रक पार्टी (तमलोपा)ले एक प्रमुख जित्दा एक जना स्वतन्त्र प्रमुख र एक जना उपप्रमुख रहेका छन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सोहीअनुसार दलहरूबीच गठबन्धनको चर्चाले अहिले महोत्तरीको राजनीतिक माहोल तातेको छ ।

समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ ।

अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन् । उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन् ।

महोत्तरीमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १६ जना आवश्यक हुन्छ । ठूलो दलको हैसियतले जसपाले लोसपा र कांग्रेसमध्ये एक दलसँग तालमेल गर्दा बहुमत पुग्छ ।

तर, जसपा लोसपासँग भन्दा पनि कांग्रेससँग नजिक छ । दुई दलबीच तालमेल हुँदा सामान्य बहुमत १६ भए पनि १७ मत हुने देखिएको छ । यसअघि बल्वा नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि जसपा–कांग्रेस तालमेल भएको थियो ।

जसपा महोत्तरी अध्यक्ष रामबाबु यादव समन्वय समितिका लागि तालमेल कांग्रेससँगै हुन सक्ने बताउँछन् ।

तर, जलेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन हुन भने बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले जनाएअनुसार त्यहाँ आज निर्वाचन हुने भएको छ ।

‘हामी आजभोलि नै सूचना प्रकाशन गरेर तयारीमा लाग्छौँ । सम्बन्धित जनप्रतिनिधिलाई कार्य क्षेत्र नछाड्न पनि भनेका छौँ’, कार्यालय प्रमुख सुबोध महतोले न्युज कारखानासँग भने ।

निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेसँगै जिल्ला समन्वय समिति गठन प्रक्रिया सुरु हुनेछ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर