पूर्वमन्त्री बामदेव, जनार्दन र हिमाल शर्माको नाममा ठगी गर्ने अमेरिकी दूतावासबाट पक्राउ

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौंः विभिन्न पार्टीका उच्च नेताको नाममा ठगी गर्दै हिड्ने एक ठक अमेरिका जाने तयारी गर्दै दूतावासमा अन्तवार्ता दिन पुगेपछि पक्राउ परेका छन् । नेपालमा करोडौं रुपैयाँ ठगी गरेर भारतको लखनउमा लुकेर व्यवसाय गरिरहेका प्यूठानका ईश्वरी प्रसाद पोख्रेल पक्राउ परेका हुन् ।

अमेरिका जाने ठाँटसहित अन्तवार्ता दिन अमेरिकी दुतावासमा अन्तवार्ता लिन आएका बेला प्रहरीले पोख्रेललाई कमलपोखरीबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पोख्रेलविरुद्ध विभिन्न ठगी मुद्धा छन् ।

ठगी धन्दालाई बढावा दिन पोख्रेलले एमाले नेता एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता एवम् उर्जामन्त्री जनार्दन शर्मा, हिमाल शर्माको नाम लिंदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्थायी घर प्यूठान भएका पोख्रेलले अन्य दर्जनौ नेपालीलाई समेत ठगेको आरोप लागेको छ । पोखरेलले एमाले नेता गौतम गृहमन्त्री रहेका समयमा पीडितलाई सिंहदरबारभित्रै प्रवेश गराएर ठगेका थिए ।

पीडितलाई विश्वास दिलाएर उनले भनेका थिए, ‘मैले गृहमन्त्रीलाई भेटें राष्ट्रिय अनुसन्धान विभागमा तपाइँको जागिर पक्का हुने भयो ।’ यसरी पैसा असुल्दै उनी फरार हुने गरेका थिए ।

पीडितले लामो समयदेखि उजुरी दिएपनि उनी पक्राउ पर्न सकेका थिएनन् । प्रहरीका अनुसार पोख्रेलले २०६७ मा माओवादी नेता जनार्दन शर्मा र हिमाल शर्माको नाममा नबिल र किष्ट बैंकमा नक्कली खाता खोलेका थिए ।’

तत्कालीन समयमा पोख्रेलले किष्ट बैंकका म्यानेजरलाई जनार्दन शर्मा नै बोलेको भनेर पटकपटक गरी लाखौं रुपैंया लिएर फरार भएको समेत खुलासा भएको छ ।

साथै उनले २३ जनालाई ईजरायल पठाउने नाममा एक करोड पाँच लाख रुपैंया ठगी गरेको उजुरी छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा पोख्रेल ठगीका ‘माष्टरमाईन्ड’ रहेको रहस्य खुलेको हो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!