गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको मध्यरातसम्मको वार्ता असफल

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौं , मंसिर १७ – चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता बिहीबार पनि निष्कर्षविहीन भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन प्रा.डा. केपी सिंहले राजीनामा दिन नमानेपछि केसीले अनशन जारी राखेका छन् ।

नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डा. केसीको प्रमुख माग छ । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए । यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन । कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डा. केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको थियो । स्रोतका अनुसार दुवै मन्त्रीले डिन सिंहलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर, सिंहले आफूले आइओएमका फ्याकल्टीहरूसँग छलफल गर्नुपर्ने र आफ्नो राजीनामाले समस्या समाधान हुनेमा शंका व्यक्त गरेका थिए । डा. केसी पक्षले बुधबारको छलफलमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्न कुलपति तथा सहकुलपतिको प्रतिबद्धता खोजेका थिए ।

समितिले बिहीबार डिन नियुक्तिको मापदण्डबारे उपकुलपतिलाई प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदन अध्ययन गर्न र फ्याकल्टीसँग छलफल गर्न पाउनुपर्ने अडान राखेर डा. सिंहले राजीनामा दिन मानेका थिएनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!