पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल — OSNepal

पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल

LC (KTM) June 04, 2022 0

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आज आयोजित नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उहाँले पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो, यस सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरूले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो, सोचौँ कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।”पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । पोखरा र गण्डकी प्रदेश हरेक सूचकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा नीतिनियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनु पर्नेछ । पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ, पर्यटनमार्फत त्यो सम्भावना छ ।”

फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि प्रमुख मुद्दाका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले संरक्षणका लागि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, माओवादी केन्द्र अध्यक्ष बखानसिंह तमु, नेकपा(एकीकृत समाजवादीका) कार्यवाहक अध्यक्ष खड्ग हमाल लगायतले महानगरको नेतृत्वले पोखरेलीको सपनालाई साकार पार्न लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महानगर प्रमुख धनराज आचार्यले दुई दिनसम्म चल्ने नेतृत्व विकास तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई पाँच समूहमा विभाजन गरिएको जानकारी दिनुभयो । चुनाव सकिएकाले कार्यपालिकामा पक्षविपक्ष कोही पनि नरहेको र अब पोखराको विकासको एकमात्र लक्ष्य लिएर अगाडि बढ्ने प्रमुख आचार्यले बताउनुभयो ।
उपप्रमुख मञ्जुदेवी गुरुङले विभेदरहित न्यायपूर्ण, समुन्नत पोखरा बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो । तालिम अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि कार्यक्रमले सहयोग पुग्ने विश्वास महानगरको छ । जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा सहभागीलाई पूर्व राजदूत महेश दाहाल, अभियन्ता निपेष ढाका, रञ्जीत आचार्य, रवीन कटुवाल, खिमलाल सापकोटाले लगायतले तालिम प्रदान गर्नुहुने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर