उड्नै लागेको जहाजभित्र सर्प भेटिएपछि मच्चियो हंगामा, उडान अवरुद्ध

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

एजेन्सी । ओमानबाट दुबई जान तयार रहेको इमिरेट्स एयरलाइन्सको उडान अचानक रद्द भयो । तर, सम्पूर्ण तयारी गरिसकेपछि विमानको उडान रद्द हुनु सबैको चासोको विषय हो । यसबारे पनि चासो दिइयो । अनि थाहा भयो, विमानभित्र सर्प भेटिएपछि यसको उडान रद्द गरिएको रहेछ ।

एयरलाइन्सका प्रवक्ताका अनुसार ओमानको राजधानी मस्कटको विमानस्थलमा विमान संख्या इके ०८६३ को उडान रद्द भएको हो । प्रवक्ताका अनुसार विमानमा यात्रुहरू प्रवेश गर्नुभन्दा पहिले गरिएको चेकजाँचमा नै सर्प भेटिएको थियो । त्यसपछि विमानको पूरै खोजतलास गरियो र विमानको उडान रद्द भएको जानकारी दिइयो ।

विमानमा सर्प भेटिएको भनिए पनि विमान कम्पनीले सर्पको प्रजातिबारे चाहिँ बताएको छैन । सर्प कसरी विमानभित्र भेटियो भन्नेबारे खुलासा भएको छैन । सर्पको प्रजाति थाहा नभएकाले पनि त्यसको सम्भावित खतराबारे पनि केही खुलेको छैन ।सोमबार यो समाचार बाहिर आएपछि सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरूमा मानिसहरूले यसलाई सन् २००६ मा आएको स्यामुएल एल ज्याक्सनको थ्रिलर फिल्म ‘स्नेक्स अन अ प्लेन’सँग तुलना गरेका छन् । यो फिल्ममा विमानमा सवार यात्रुहरूले सयौँ विषालु सर्पको सामना गर्नुपरेको देखाइएको छ ।

त्यसो त विमानमा सर्प भेटिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि एक यात्रुविमानमा सर्प भेटिएको थियो । विमानकी यात्री इन्डालेको मेडिनाले टोरेनबाट मेक्सिकोका लागि उडान भरेको विमानमा सर्प भेटिएको भिडियो सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो ।
त्यस्तै, मेक्सिकोको आन्तरिक उडानमा पनि गत नोभेम्बरमा एक मिटर लामो सर्प निस्किएको थियो । सन् २०१३ मा अस्ट्रेलियाबाट पपुआ न्युगिनीका लागि उडान भरेको विमानमा तीन मिटर लामो सर्प भेटिएको थियो । त्यस्तै, सन् २०१२ मा मेक्सिकोबाट उडान भरेर स्कटल्यान्ड पुगेको विमानमा पनि सर्प भेटिएको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!