परदेशिएका श्रीमानको शव कुर्दाकुर्दै श्रीमतीको मृत्यु

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

रोल्पा : धेरै नेपाली युवा रोजगारीका निम्ति विश्वका विभिन्न देशमा पुगेका छन् । त्यसरी विदेशीएका धेरै युवाले परिवार र समाजमा खुशी दिएका छन् । यद्यपी कतिपय युवाका दुःखद् खबरले भने सबैलाई रुवाउने गरेका छन् ।

डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको शव हेर्न नपाउँदै श्रीमतीको मृत्यु भएको छ ।

रोजगारिका लागि साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको प्रहरीको भनाइ छ ।

दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली मृत्युको खबर सुन्नेबित्तिकै घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताए । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिए ।उनका श्रीमानको भने डेढवर्षअघि कम्पनीकै गाडीको ठक्करबाट मृत्यु भएको थियो । लामो समयभइसक्दा समेत उनको शव नेपाल ल्याउन सकिएको थिएन ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!