ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत — OSNepal

ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत

LC (KTM) July 11, 2022 0

ताप्लेजुङ- ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ । दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरेका हुन् । सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता रहेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । राजमार्गको गुफा–साँघु खण्ड जिर्ण थियो । वर्षायाममा यातायात सञ्चालन गर्न समस्या भएकाले श्रमदान गरी सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।

सडक जिर्ण हुँदा बेलाबेलामा यातायात अवरुद्ध हुने गरेको थियो । गाउँपालिकाले आवश्यक स्काभेटर, जेसिभी र ट्र्याक्टरका लागि इन्धनको व्यवस्था गरेको तामाङले बताउनुभयो । व्यवसायीले १७ ट्र्याक्टर निःशुल्क उपलब्ध गराएका थिए । ढुङ्गा र माटो मिलाउन मैवाखोलावासीले श्रमदान गरेका थिए ।

तिनजुरे, मिल्के, जलजले हुँदै कञ्चनजङ्घा तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने उक्त सडकको स्तरोन्नतिमा सङ्घीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । सङ्घीय सरकार मातहत रहेको सडकखण्डमा गाउँपालिकाले बजेट विनियोजन गर्न नमिल्ने भएकाले श्रमदान गरेर यातायात सहज रुपमा सञ्चालन गरिएको तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर