नेतृत्व खोजेको आरोप लगाइयो : जसपा सङ्घीय परिषद् अध्यक्ष डा भट्टराई — OSNepal

नेतृत्व खोजेको आरोप लगाइयो : जसपा सङ्घीय परिषद् अध्यक्ष डा भट्टराई

LC (KTM) July 12, 2022 0

काठमाडौँ, २८ असार-विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजै काठमाडौँमा भएको छ ।

पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा सङ्घीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गर्नुभएको छ ।

पार्टीलाई हिमाल, पहाड तराई सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनुपर्ने भट्टराईको जोड थियो । पार्टीमा तीन जनाको हेडक्वार्टर बनाउँदासमेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरुलाई नबोलाइएको भट्टराईको गुनासो छ ।

विसं २०७६ वैशाख २३ गते तत्कालीन सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । विसं २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । भट्टराई पक्षको बैठक भोलि बुधबारसम्म चल्नेछ । उता अध्यक्ष यादव पक्षले पनि बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर