नागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने — OSNepal

नागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने

LC (KTM) July 12, 2022 0

काठमाडौँ-नागरिक लगानी कोषले रु ५१ करोड १२ लाख बराबरको रकम प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ । कोषका अनुसार रु ४० करोड ५० लाख उपदान कार्यक्रममार्फत र लगानीकर्ता कार्यक्रममार्फत रु १० करोड ६२ लाख उपलब्ध गराइनेछ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र त्यस्तो खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ ।

त्यस्तै, कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ । आगामी साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक आठ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।

यसअघि कोषले यसै कार्यक्रमका तीन लाखभन्दा बढी सहभागीलाई २०७७ असारसम्मको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ ।

यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधारमानी प्रदान गरिने छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारणसभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर