पोखरामा टेलिकमको प्रिपेड सिमकार्ड अभाव



(एनपि न्यूज डटनेट) ०५ भदौ- नेपाल टेलिकमको पोखरा शाखामा प्रिपेड सिमकार्ड अभाव भएको छ । नेपाल टेलिकमको केन्द्रीय वितरण केन्द्रबाट नै सिम वितरण नगरेकाले सिमको अभाव भएको नेपाल टेलिकम पोखरा शाखा प्रमुख प्रकाशमान प्रधानले जानकारी दिनुभयो ।

अहिले नयाँ प्रोजेक्ट सुरु भएको र सरकारी नियम पालना गर्नुपर्ने भएकाले केहि दिनका लागि सिमकार्ड नआएको प्रधानले बताउनुभयो । टेण्डर आह्वान गरेर सिम वितरण गर्नुपर्ने प्रावधान अनुसार वितरण ठप्प भएको र अब केही दिनमा नै वितरणको काम सुरु हुने उहाँले बताउनुभयो ।

सिमकार्ड वितरण नगर्दा ग्रामिण क्षेत्रबाट आएका ग्राहकलाई समस्या भएको छ । प्रिपेड सिमकार्डमा पनि थ्रीजी सेवा उपलब्ध गराउने तयारी गरेकाले केही ढिलो हुन सक्ने टेलिकमका वितरण शाखाका राजेश रेग्मीले बताउनुभयो । पोखरा शाखाबाट दैनिक करीब ५० वटा सिम बिक्रि हुँदै आएको छ ।

Comment