बालेनले काठमाडौं वासीका लागि काम गर्न खोज्नु अपराध हो ? — OSNepal

बालेनले काठमाडौं वासीका लागि काम गर्न खोज्नु अपराध हो ?

LC (KTM) August 28, 2022 0

अनुसा थापा/ यतिखेर काठमाडौंका बासिन्दा मेयर बालेन्द्र शाहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरको जनताको ध्यान खिचेको छ । उनले गरेको काम र देखाएको हिम्मत साँच्नै नै तारिफयोग्य छ । स्थानीय तहको चुनावमा काठमाडौंमा भएको राजनीतिक दलको दबदबा चिरेर अघि आएको बालेनको नाममा जनताहरु राम्रो गुनगान मात्र गाइरहेका छन् ।
काठमाडौंवासी मात्र नभई मुलुकभरका जनता उनको पक्षमा छन् । उनलाई आफ्नो काममा निरन्तरता दिन र नढगमगाउन उनीहरुले प्रोत्साहन गरिरहेको देख्न सकिन्छ । यसअघि राजनीतिक दलबाट मेयर जितेकाहरु सिन्को पनि भाँचिकन निस्किए । सरकारी गाडी चढ्ने, सेवासुविधा लिने अनि ठूल्ठूला व्यापारीको सामुन्ने केही पनि नगर्ने । बालेनको कामको सिको अरु नगरपालिकाका मेयरले गर्ने हो भने देशको स्वरुप अवश्य नै फेरिन्छ ।

आफ्नो नगरको रुप फेर्न मेयरहरु नै बलियो भएर अघि बढ्नुपर्छ ।बालेनले गरेको काम जनता र राष्ट्रको हितमा छ । केही विरोधीहरुले खुट्टा तान्न खोजेपनि जनताहरु उनको साथमा छन् । दुईचार विरोधीको मुख त उनले आफैं पनि थुन्न सक्ने क्षमता राख्छन् । भोट दिनेले मात्र नभई नदिनेले समेत बालेनको काममाथि ‘वाहवाह’ गरेका छन् । उनी चर्चाले छुट्टै उचाइमा पुगेको छ । राम्रो काम गर्यो भने जनताको साथ पाउन धेरै समय लाग्दो रहेनछ भन्ने उदाहरण उनले दिएका छन् । अरु नगरपालिकाका मेयरले पनि उनीबाट केही पाठ सिक्नुपर्छ ।

सरकारको ऐनकानून नमान्नेलाई बालेनले दरो सबक सिकाइरहेका छन् । उनी अघि हिँडेका छन् भने उनको पछाडि लाखौं जनता । घरको नक्सा पास गर्ने बेलामा अण्डरग्राउण्ड पार्किङ भनिएको ठाँउमा मँहगो बहाल लिएर पसल सञ्चालन गरिएको थियो । अवैध संरचना निर्माण गरेर मासिक लाखौं भाडा उठाउनेलाई ठिक ठाँउमा ल्याएका छन् । मोटो बहाल सिमित घरधनी लिने अनि सधैं जनताले सास्ती पाउनुपर्ने । व्यापार व्यवसाय अण्डरग्राउण्ड पार्किङमा गर्ने अनि सवारी साधन फुटपाथमा ल्याएर पार्क ।
सवारी साधन फुटपाथमा पार्क गरिदिदाँ जनता सडकको माझबाट हिड्न बाध्य थिए । जसका कारण वर्षेनि सयौं नेपालीको दुर्घटनामा परेको अकालमा ज्यान जान्थ्यो । ट्राफिक जाम र प्रदुषण काठमाडौंमा थेगिनसक्नु हुन्थ्यो । अव्यवस्थित शहरलाई व्यवस्थित बनाउन अघि सरेका छन्, बालेन । तैपनि कतिपय विरोधीहरुले उनलाई नानाथरी गालीगलौज गरिरहेका छन् । आखिरी जनतालाई सुःख दिन खोज्नु गलत हो ? बालेनले देखाएको हिम्मत र गरेको काम अपराध हो ?

२०७४ सालमा चुनिएर आएका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पाँच वर्ष यत्तिकै सकाए । उनीहरुको पालामा पनि पार्किङको समस्या यस्तै थियो । तर, उनीहरुले समस्या समाधान गर्न किन खोजेनन् ? जनताले अवश्य पनि रोकेका थिएनन् । झन् काठमाडौवासीले काम गर भनेर त्यत्रो मत दिएर विजयी बनाएको होइन् । राजनीतिक पार्टीबाट आएका मेयरहरुले खटिएर अभिभावकको भूमिका निभाएको भए काठमाडौंमा स्वतन्त्र आउने ठाँउ नै थिएन् ।

जनताको प्रतिनिधि भएर आएकाहरु सेवासुविधाको भोगी भएपछि काठमाडौंका जनताले पार्टीका उम्मेदवारलाई पछारेका हुन् । काठमाडौंमा स्वतन्त्रले ठाँउ पाउला भनेर कसैले कल्पना पनि गरेको थिएन् । तर, राजनीतिक दलमाथिको विश्वास गुमिसकेपछि स्वतन्त्र चुनेका जनतालाई अहिले आएर जनप्रतिनिधि भएको महशुस भएको छ । यसअघिका मेयरझै बालेन मेयरको कुर्सीमा चिप्किएर बसेनन् । उनी आफैं स्थलगत अनुगमनमा खटिएका छन् ।

कुर्सीभन्दा माथि उठेर काम गर्न सक्नु नै गर्वको कुरा हो । भुरादेखि बुढासम्मको मुखमा बालेनकै नाम झुण्डिएको छ । बालेनले काम गरेको देखेर राजनीतिक दलहरुको मुटु नराम्ररी पोलेको छ । उनको प्रंशसा केही डाह्डेहरुलाई पचाउनसमेत गाह्रो परेको छ । सारा मुलुक नै बालेनको समर्थनमा उत्रिएको बेला एकदुई जनाले विरोध जनाएका छन् । आफू पनि केही नगर्ने अनि अरुले गरेको देख्दा छाती पोल्नेहरु उनलाई असफल बनाउन खोजिरहेका छन् । नेकपा एमालेका नेता महेश बस्नेतलाई पनि बालेन अघि आउने हो कि भनेर साह्रो पिर परेको छ ।

काठमाडौंबाट एमालेको अस्तित्व गायब हुने देखेपछि उनले बालेनलाई सामाजिक सञ्जालमार्फत चुनौती दिएका छन् । सक्छन् भने सुर्यविनायकमा रहेको आफ्नो घरको नक्सा बोकेर आउन उनले बालेनलाई भनेका छन् । बालेनलाई चुनाव जिताएको काठमाडौंको जनताले हो, भक्तपुर क्षेत्र नम्बर २ काले होइनन् । भक्तपुरसंग सरोकार नभएको विषय भएपनि बस्नेतलाई पिरो किन लाग्यो ? बालेनले आफ्नो जनताले दिएको जिम्मेवारी निभाइरहेको छ ।

त्यसमा बस्नेतलाई बोल्ने अधिकार कसले दियो ? भक्तपुरबाट जितेको भए अलिकति भएपनि बोल्न सुहाउथ्यो । आफ्नो घरमा के चलिरहेको छ थाहा छैन् तर अरुको घरमा के भइरहेको छ, त्यसमा चाहि खुब चासो छ, बस्नेतलाई । बालेनले गरेको काममा हस्तक्षेप गर्ने हक उनलाई छैन् । बस्नेत पूर्वमन्त्री हुन भने संसद् पनि हो । तर, आफ्नो कार्यक्षेत्र बाहिर गएर काम गर्न पाइदैंन भनेर उनलाई अलिकति पनि हेक्का छैन् ? अब गुण्डा महेश कि बालेन ? यसको जवाफ जनताले सुनाउनेछन् ।

भक्तपुरमा महेश बस्नेतले कति विकास गरेको छ ? जनताले राम्रोसंग देखेका छन् । नगरपालिका मेयरहरु कति जिम्मेवार छन् ? भक्तपुरको अवस्था कस्तो छ ? यसबारे त उनलाई थाहा होला । जनताको प्रश्न बस्नेतलाई,‘भक्तपुर उपत्यकाभित्र पर्छ कि बाहिर ?’ यसो हेर्दा त दुर्गम जिल्लाजस्तो देखिन्छ । न बाटोघाटो छ न कुनै सेवासुविधा । भक्तपुरका मेयर र वडाध्यक्षले के काम गरेका छन् ? यसको जवाफ उनले दिन सक्छन् ? न गुठी, सरकारी जग्गा खोजेका छन् न फुटपाथ नै हटाउन ।

आफ्नो क्षेत्रका मेयर र वडाध्यक्ष केही नसक्ने अनि अरुले गरेको देखिनसहने । बालेनले जस्तो भक्तपुरका जनप्रतिनिधिले डोजर लिएर अवैध संरचना भत्काउन सक्छन् ? त्यति आँट छ ? दलालीहरुले सरकारी, गुठीका जग्गा कब्जा गरेका छन् । नक्साविपरीत घरहरु बनेका छन् । खोइ कहाँ छन् जनप्रतिनिधि ? भक्तपुरवासीले आफ्नो जनप्रतिनिधि त चिन्दैनन् होला । जनताले चिन्नका लागि उनीहरुको माझ हिँड्नुपर्छ । अभिभावक छ भनेर अनुभव गराउनुपर्छ । जनताको हितमा मरिमेटेर काम गर्नुपर्छ ।
अनि मात्र ऊ जनप्रतिनिधि हुन्छ । कुर्सीलाई प्यारो व्यक्ति कहिल्यै पनि जनप्रतिनिधि बन्न सक्दैन् । गुण्डागर्दी पृष्ठभूमिबाट आएका बस्नेत उद्योगमन्त्रीसमेत भए । आफू कुन पृष्ठभूमिबाट आएको उनको प्रयोग गर्ने शब्दबाट पत्तो पाइहालिन्छ । उद्योगमन्त्री हुँदा बस्नेतले गरेका दुई महान् कामः मोटो रकम लिएर प्रतिबन्ध लगाएको मदिरा उद्योगलाई अनुमति दिने । त्यस्तै, उपत्यकाबाहिर सार्न लागेको ईट्टाभट्टा पनि पैसा राखेर मानववस्तीका बिच सञ्चालन गर्न दिने पनि उनी नै हुन् ।

भक्तपुर क्षेत्र नम्बर २ बाट सजिलै चुनाव जित्छु भनेर फाइफुट्टी लगाइरहेका महेश बस्नेतको भ्रम पनि केही महिनामै तोडिने छ । सक्छन् भने आगामी निर्वाचनमा जितेर देखाऊ भनेर जनताले चुनौती दिएका छन् । बालेनको काम देखेर नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माको छाती पनि भत्भती पोलेको छ । पार्टीको नेताको गुलामी र चाकरी गरेर सांसद् बनेकालाई जनता र राष्ट्रको हितमा काम गर्नुपर्छ भनेर के हेक्का हुन्छ ? जनताले चुनेर पठाएको भए पो थाहा हुन्थ्यो ।

स्वतन्त्रले आफूलाई उछिनेर अघि बढेको देखेर एमालेलाई झैं कांग्रेसलाई पनि चिन्ताले सखापै पारिसकेको रहेछ । बालेनको जति खण्डन गरेपनि जनता नै साथ दिएपछि जाबो एकदुई वटा पार्टीको के नै लाग्छ । सङ्लो पानीलाई धमिलो बनाएर माछा मार्न खोज्नु अब काम नलाग्ला जस्तो छ । बालेनलाई कमजोर बनाएर अर्को चुनावमा आफ्नो पार्टी जिताउला भन्ने सपना नदेख्दा पनि हुन्छ । बालेनको कामप्रति उद्योग व्यवसायीहरु पनि अड्चन बनेका छन् ।

अरुलाई दुःख दिएर पैसा कमाउन नपाउने भएपछि उद्योग व्यवसायीले पनि आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाले जबरजस्ती अवैध संरचनामा पसल राख भनेको त होइन होला । आफ्नो फाइदाका लागि जहाँ मनलाग्यो त्यही पसल थाप्ने अनि अहिले आएर अरुलाई दोष देखाउन त पाइएन् नि । उद्योग व्यवसायीलाई न जनताको माया हुन्छ न सरकारको ऐनकानून मान्नुपर्छ । एक सयको सामान पाँच सयमा बेचेर जनता ठग्न पाए उनीहरुलाई आनन्द आउछ ।

राज्यलाई कर नतिर्ने अनि केही नेतालाई चन्दालाई चन्दा दिएर सरकारको ऐनकानून लत्याउने । उद्योग व्यवसायीहरु बाटोमा हिड्नुपर्दैन् ? आफ्नो कारणले शहर अस्तव्यस्त भएको यिनीहरुले देखेका छैनन् ? बालेनले गरेको कामप्रति त यिनीहरु झनै खुसी हुनुपर्ने हो । तर, सबैले आफ्नो र आफ्नो फाइदाको बारेमा मात्र बोले । जसले पार्टीभन्दा माथि उठेर बोल्छ ऊ जनताको नेता हो ।

पूरा राष्ट्रको नेता हो । केही सिमित व्यक्तिले अवरोध गर्न खोजेपनि बालेनले बाटो खोज्नुपर्छ ।बालेनको पक्षमा काठमाडौंमा मात्र ६३ हजार १६७ जनता छन् । मुलुकभर त कति छन् कति । बालेनको खुट्टा तान्नेको विरोध जनताले गर्छन् । जनताले आवाज उठाउनेछन् । बालेनलाई काम गर्न दिने हो भने काठमाडौंको मुहार अवश्य पनि फेरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर