तीन सय २४ जना अफगान शरणार्थी बोकेको विमान क्यानडामा अवतरण — OSNepal

तीन सय २४ जना अफगान शरणार्थी बोकेको विमान क्यानडामा अवतरण

LC (KTM) August 28, 2022 0

काबुल-तीन सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ । तालिवान सरकार सत्तामा आएपछि करिब ४० हजार अफगान नागरिकलाई क्यानडा सरकारले पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेअनुरूप उनीहरू विनिपेग पुगेका हुन् । विमानमा क्यानडाली सेना र सहयोगी संस्थासँग काम गरेका दोभाषेलगायत रहेका खामा प्रेसले जनाएको छ ।

खामा प्रेसकाअनुसार हालसम्म १७ हजार छ सय ५५ जना अफगान नागरिकलाई क्यानडामा बसोबासको प्रबन्ध भइसकेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गरिएको हो । अफगानीहरूलाई क्यानडा स्थानान्तरणको प्रयास जारी रहेको छ ।

गत वर्ष तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ अकल्पनीय मानवीय सङ्कट उत्पन्न भयो जसका कारण अन्तर्राष्ट्रिय समुदाय एवम् विकसित देशले सहयोगी हात फैलाए । लाखौँ महिला र बालिका आधारभूत अधिकारबाट वञ्चित हुुनुपरेको छ भने पोशाकलगायत धेरै अमानवीय प्रतिबन्ध झेल्न विवश पारिएका छन् ।

सार्वजनिकस्थलमा अनुहार छोप्नैपर्ने, एक्लै यात्रा गर्ननपाइनेजस्ता धेरै अव्यावहारिक एवम् अमानवीय उर्दी तालिबानले महिलाहरूमाथि जारी गरेको छ । महिलाले स्मार्टफोनसमेत प्रयोग गर्ननपाउने निरङ्कुश आदेश उसले जारी गरेको छ ।

तालिबानका कारण सञ्चारमाध्यममा कार्यरत ८० प्रतिशत महिलाले रोजगारी गुमाएका तथा देशका करिब एक करोड ८० लाख महिला स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारका निम्ति सङ्घर्ष गरिरहेका छन् । सत्ताकब्जा गरेपछि तालिबानले पत्रकार सम्मेलन गरेर समावेशी समाज र समानता प्रवद्र्धनको प्रतिबद्धता जनाए तापनि त्यो पालना भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर