यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक — OSNepal

यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक

LC (KTM) August 31, 2022 0

रामपुर -समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीजे रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ ।

संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीजे रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीजे रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले समयअनुसार आएका नयाँ–नयाँ प्रविधिको उपयोग गर्दै यसपटक तीज टिकटकमा नाचेर मनाइएको बताउनुहुन्छ । विगतका तीजका कार्यक्रममा उहाँ निकै सक्रिय भएर प्रतियोगितात्मक कार्यक्रममा नाचगानमा सहभागी भए पनि अहिले भने तीज पर्व सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तुति प्रस्तुत गरिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “घरमै बसेर नयाँ–नयाँ कपडा लगायो, आफूलाई मन परेको गीत रोजेर टिकटक बनाउने पोष्ट गर्ने, धेरैले यसको प्रयोग गर्नुहुन्छ, यसमै तीजको रमाइलो भइरहेको छ, अन्यत्र कार्यक्रममा जाने झण्झट गरिएन, बाहिर कार्यक्रम हेर्न पहिलाजसो उत्सुकता र रमाइलो लाग्दैन ।” टिकटक बनाउने पोष्ट गर्ने, लाइक, भ्युज, कमेण्टमा बढी ध्यान तानिएको छ । टिकटक, फेसबुकलाई नै बढी समय दिएर आफ्ना प्रतिभा देखाउने जमात युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकमा पनि उत्तिकै छ । फुर्सदिला व्यक्तिलाई टिकटक, फेसबुक समय भुलाउने माध्यम बनेको र यसबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर बनेको कला खनाल बताउनुहुन्छ ।

“अरुका सामु नाच्न पटक्कै आउँदैन, यसो नाच्न खोजे पनि लाज र डर लाग्थ्यो, टिकटक आएपछि भने घरभित्रै हल्का नाच्न सिकियो, फुर्सदमा टिकटकमै नाच्न र अभिनय गर्न सिकिरहन्छु”, उहाँ भन्नुहुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । सबैका घर घरमा इन्टरनेटको सुविधा पुगेको छ । स्मार्ट फोन प्रयोग गर्ने धेरै छन् । त्यसकारण पनि हाम्रा चाडपर्व विशेष गीतमा टिकटक बनाउने, नाचगान गर्ने, फेसबुकमा पोष्ट गर्नेको जमात छ ।

चाडपर्वका गतिबिधि सामाजिक सञ्जालमा बढी देखिन थालेको छ । कतिपयले टिकटक र फेसबुकमार्फत देखाउनकै लागि पनि भड्किलो तरिकाले पर्व विशेषका गतिविधि देखाउने गर्दा भने विकृिी बढेको धेरैको ठम्याइ छ । सही सदुपयोग गर्न जानियो भने सामाजिक सञ्जाल आफूमा लुकेर रहेका प्रतिभा देखाउने अवसर र यसबाट धेरै राम्रा कुराको जानकारी लिन सकिन्छ । तीज विशेष प्रतियोगितात्मक कार्यक्रममा यस पटक खासै उत्साह देखिएन । पहिले पहिले यहाँ आयोजित कार्यक्रममा प्रतियोगिको ठूलो सहभागिता रहेपनि यस पटक न्यून मात्रामा मात्रै थिए । सूचना प्रविधिको विकास र प्रयोगले नाचगान कार्यक्रममा पहिलेजसो रुची छैन ।

अघिल्ला वर्षमा तीज प्रतियोगितात्मक कार्यक्रममा १५ समूहभन्दा बढी प्रतिस्पर्धामा प्रतियोगिको सहभागिता रहने गरेकोमा अहिले ६ समूहले मात्रै कार्यक्रममा सहभागिता जनाएको रजघरा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताउनुभयो । “यस पटक सहभागीको सङ्ख्या अति नै न्यून भयो, पहिला त धेरै टाढाबाट गीत र नाच तयारी गरेर आउथे, प्रचारप्रसार व्यापक रहेपनि नाच्ने र गाउने समूह घट्दै गयो” उहाँले भन्नुभयो । यसैगरी विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पनि जम्मा ६ समूहले मात्रै सहभागिता जनाए । प्रथम, द्वितीय, तृतियका लागि ठूलो नगद रकम पुरस्कार रहेता पनि सहभागितामूलक कार्यक्रममा दर्शकले खासै चासो दिएनन् । यहाँ विगतका वर्षमा ठूलो समूहमा कार्यक्रम हुने गरे पनि पछिल्ला वर्षमा तीजमा प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दो छ ।

घरमै बसेर इन्टरनेटमा सबै कुराको उपयोग गर्ने सुविधा भए पश्चात् घरदेखि बाहिर हुने खुल्ला प्रतिष्पर्धात्मक कार्यक्रममा सहभागी हुन जाने उत्साह नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाका लागि आयोजना गरिएको कार्यक्रममा महिला सहभागीता नै कम हुन थालेको छ, घरमै बसेर इन्टरनेट प्रयोगकर्ता बढ्दै, प्रत्यक्ष रुपमा घरबाहिर निस्केर खुल्ला प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दै गयो, पहिलाजसो दुख र बेदनाको तीज अहिले नभएर होला, सबैलाई सुख र सुविधा छ ।”यस्ता तीज विशेष आयोजना गरिएका प्रतियोगितात्मकमूलक कार्यक्रममा दर्शकको उपस्थिति पनि घट्दै गएको छ । दर्शकको उपस्थितिले भरिभराउन हुने खुल्ला चउर, बजारका चोक पछिल्ला वर्षमा उपस्थिति पातलिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर