उपप्रधानमन्त्री निधि र बेलायती राजदूतबीच भेटवार्ता



काठमाडौँ, २२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक बन्दोबस्ती सहयोगका लागि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । सो अवसरमा राजदूत रिचार्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

Comment