स्थानीय तहका पदाधिकारीको कर्तव्यबारे प्रचार हुनुपर्ने



नुवाकोट, १ वैशाख । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले स्थानीय तहमा रहेका अधिकार मात्र नभई पदाधिकारीको कर्तव्य र दायित्वबारे पनि बढी प्रचार हुनुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजिवी परिषद् नुवाकोटले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सदरमुकाम विदुरमा सम्बोधन गर्दैै नेता पाण्डेले मतदातालाई मतदानसम्बन्धी शिक्षासँगै स्थानीय तहको कर्तव्य र जिम्मेवारीबारे पनि प्रचार गर्न निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोटको चरणमा रहेको जानकारी दिँदै नयाँ र पुराना सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो । आसन्न निर्वाचनका लागि बुद्धिजिवी परिषद्ले आयोजना गरेको सो कार्यक्रममा नेता रामकृष्ण राजभण्डारीले ‘स्थानीय तहमा नुवाकोट ः अधिकार र जिम्मेवारी’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो भने मतदाता राय सर्वेक्षण गर्न परिषद्का सचिव दीपेन्द्र श्रेष्ठले गर्न लागेको अनुसन्धानसम्बन्धमा जानकारी गराइएको थियो । परिषद्का कावा अध्यक्ष रामहरि रिमालले निर्वाचनमा योग्य र विकासप्रेमी उम्मेदवारलाई खडा गर्न सुझाव दिनुभयो ।

Comment