बाढी प्रभावित पाकिस्तानमा एकैदिन नब्बे हजार बढीको जलजन्य रोगको उपचार — OSNepal

बाढी प्रभावित पाकिस्तानमा एकैदिन नब्बे हजार बढीको जलजन्य रोगको उपचार

LC (KTM) September 18, 2022 0

इस्लामावाद-अविरल वर्षाका कारण आएको बाढी र त्यसबाट प्रभावित भएका पाकिस्तानको सिन्ध प्रान्तका ९० हजार जनालाई एकैदिन जलजन्य रोगको उपचार गरिएको छ । प्रान्तीय स्वास्थ्य विभागका अनुसार गत बिहीबार बाढी प्रभावित ९२ हजार सात सय ९७ नागरिकलाई जलजन्य सङ्क्रामक रोगबाट जोगाउन चिकित्सासेवा प्रदान गरिएको हो ।

सोही दिन १७ हजार नौ सय ७७ जना झाडाबान्ताका, २० हजार ६४ जना छालाका रोगी र २८ जना डेङ्गुका रोगी थपिएका विभागले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा स्थापना गरिएका अस्थायी र घुम्ती अस्पतालबाट हालसम्म २३ लाख बिरामीले सेवा लिएका छन् ।

पाकिस्तानका विभिन्न भागमा आएको बाढीमा परी एक हजार पाँच सय आठ जनाको मत्यु भएको छ । बितेका २४ घण्टामा थप २२ जनाको ज्यान गएको छ । सोही अवधिमा नौ जना घाइते भएका छन् । बाढीमा परी घाइते हुनेको सङ्ख्या १२ हजार सात सय ५८ पुगेको छ । बाढीबाट ३० अर्ब डलर बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।

संयुक्त राष्ट्रसङ्घ र सरकारले तापक्रम वृद्धिमा भएको बढोत्तरीले वर्षा भएको र त्यसले भीषण बाढी निम्त्याएको बताएका छन् । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले जलवायु परिवर्तनका कारण पाकिस्तानले भोगेको समस्या अन्य देशले पनि सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्ने बताउनुभएको छ ।

उहाँले धनी देशले जलवायु परिवर्तनको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । आफ्नो देशमा परेको अविरल वर्षाको प्रभावलाई उल्लेख गर्दै उहाँले सिन्धमा एक सय किलोमिटर चौडा ताल बनेको र त्यसले आवासीय क्षेत्रमा असर गरेको बताउनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर