धुलिखेल कारागारभित्र गलैँचा उद्योग स्थापना, ५० कैदीबन्दीले गलैँचा बुन्ने — OSNepal

धुलिखेल कारागारभित्र गलैँचा उद्योग स्थापना, ५० कैदीबन्दीले गलैँचा बुन्ने

LC (KTM) September 19, 2022 0

काभ्रेपलाञ्चोक-जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ । एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका नवराज केसीले रु ३० लाखको लगानीमा कारागारभित्र गलैचा उद्योग सुरु गर्नुभएको हो । “कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो”, अधिकारीले भन्नुभयो ।

यसअघि कैदीबन्दीले मुढा बनाउने तथा पोते बुन्नेलगायतका काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ । केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैँले चीनमा बिक्री गर्ने योजना बनाउनुभएको छ । कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैँचा बुन्न सिकाइनेछ । कारागारले केही जानेकालाई थप सीप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगार उपलब्ध गराउने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर