नर्सका लागि सिपिडी तालिम आवश्यक



काठमाडौँ, १४ वैशाख । नर्सका लागि पेसागत दक्षता अभिवृद्धि तालिम अर्थात् कन्टिन्युस प्रोफेसनल डेभलपमेन्ट (सिपिडी) तालिम अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गर्नुपर्ने जनाएको छ ।

नेपाल नर्सिङ काउन्सिल, नर्सिङ सङ्घ, लिभरपुल जोन मोरेज युनिभर्सिटी, बर्नमाउथ युनिभर्सिटी बेलायत र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजले डेढ वर्ष लगाएर गरेको संयुक्त अनुसन्धान प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै नेपालका नर्सलाई सिपिडी तालिम अनिवार्य लिनुपर्ने जनाएको हो ।

अनुसन्धान टोलीका सदस्य डा सुजन मरहठ्ठाले नर्सिङ काउन्सिलले नर्सको लाइसेन्स नवीकरण गर्दा पेसागत दक्षता अभिवृद्धि तालिम लिएको हुनुपर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक छ वर्षमा नर्सको लाइसेन्स नवीकरण हुने गर्छ, लामो समयमा हुने नवीकरणका समयमा नर्सले बीचको समयमा काम गरेको छ वा छैन, आवश्यक र पछिल्लो क्षमता अभिवृद्धि तालिम लिएको छ वा छैन भन्ने हेरिदैन, केही शुल्क र निवेदनका भरमा मात्र नवीकरण हुन्छ, यसले सेवाको गुणस्तरीयता कायम राख्न सक्दैन् ।”

सरकारले यसका लागि ऐन बनाएरै सिपिडी तालिम अनवार्य गरी अनुगमन गर्न नर्सिङ काउन्सिललाई जिम्मेवार बनाउनुपर्नेमा डा मरहठ्ठाले जोड दिनुभयो । अनुसन्धानका क्रममा नेपालमा सिपिडी तालिमको आवश्यक कतिको छ त ?, यसवारे डेढ वर्षमा आठ वटा मुख्य समूह बनाई विभिन्न सरकारी र निजी स्वास्थ्यसंस्थामा आबद्ध नर्ससँग छलफल गरिएको थियो ।

अर्का अनुसन्धानकर्ता डा विभा सिम्खडाले विदेशमा सिपिडी तालिमको व्यवस्था भए पनि नेपालमा यसबारे कुनै व्यवस्था नभएको जानकारी दिनुभयो । “अनुसन्धानका क्रममा छलफलमा सहभागी सबैले नर्सका लागि सिपिडी तालिम अनिवार्य भएको धारणा व्यक्त गरेका थिए । एकपल्ट पढेर लाइसेन्स लिएर मात्र हुँदैन, त्यसका लागि नर्सलाई बेलाबेलामा क्षमता अभिवृद्धि तालिम नदिए सेवामा गुणस्तरीयता आउन गाह्रो हुन्छ”– उहाँले भन्नुभयो ।

नेपाल नर्सिङ सङ्घकी उपाध्यक्ष अप्सरा पाण्डेले सिपिडी तालिमको पाठ्यक्रम र यस सम्बन्धी आवश्यक अन्य बिषयहरु समेटिएको सो प्रतिवेदनको कार्यान्वयनका लागि सरकारसँग छलफल गरी अघि बढ्ने बताउनुभयो ।

Comment