विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक : मन्त्री चौधरी — OSNepal

विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक : मन्त्री चौधरी

LC (KTM) September 19, 2022 0

दमौली-सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट जाने पर्यटकीय मार्गमा गरिएको कालोपत्रको आज उद्घाटन गर्दै मन्त्री चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र विकास निर्माण दिगो हुने उल्लेख गर्नुभयो । मन्त्री चौधरीले सहमति र सहकार्यले मात्रै सफलता मिल्ने बताउँदै भन्नुभयो, “सबै मिलेर देशलाई विकास गर्ने हो, विकासको काममा राजनीतिक दल पनि एकजुट हुनुपर्छ ।” सबै नेपालीलाई सुखी बनाउने सरकारको लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले पर्यटनमार्फत आम्दानीको स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

मानुङकोटले पर्यटनमा फड्को मार्दै गइरहेकाले कालोपत्रे भएको सडकले मानुङकोटको प्रवद्र्धनमा थप टेवा पुग्ने मन्त्री चौधरीको विश्वास थियो । “बाटो कालोपत्रे भयो, अब आम्दानीको स्रोत बढाउनेतर्फ पनि स्थानीयवासी लाग्नुपर्छ,” चौधरीले भन्नुभयो । चौधरीले मानुङकोटसम्म कालोपत्रे गर्न बाँकी रहेको खण्डलाई पनि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री चौधरीले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने भन्दै थप्नुभयो, “चुनाव जित्नका लागि मात्रै गठबन्धन होइन, देश निर्माणका लागि गठबन्धन गरेका हौँ ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानुङकोटको विकास अभियानमा नगरपालिका क्रियाशील रहेको बताउनुभयो । निजी सरकारी साझेदारीमार्फत मानुङकोटको विकास गर्न लागिएको भन्दै न्यौपानेले मानुङकोटमा लगानी गर्न निजी क्षेत्र आकर्षित भइरहेको बताउनुभयो । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत मानुङकोट पर्यटकीय मोटरमार्ग कालोपत्रे गरिएको छ । विसं २०७५ साउन १७ गते सम्झौता भएर यही असार १५ गते कालोपत्रे सम्पन्न भएको एकाइ प्रमुख सुरोज पौडेलले जानकारी दिनुभयो ।

रु सात करोड तीन लाखको लागतमा चार दशमलव छ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसक्रममा चार दशमलव नौ किलोमिटर नाला निर्माण गरिएको छ । कालोपत्रे गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसीसी ढलान गरिएको छ ।अझै दुई किलोमिटर सडकखण्ड कालोपत्रे गर्न बाँकी छ । कालोपत्रेको ठेक्का काठमाडौस्थित रानीबारी कन्स्ट्रक्सनले पाएको थियो । कोभिड–१९ को महामारीका कारण केही समय कालोपत्रेको काम प्रभावित भएको थियो । मानुङ पर्यटकीय मोटरमार्गका अध्यक्ष वीरबहादुर थापाले ठाउँ ठाउँमा अझै कालोपत्रे बाँकी रहेकाले बाँकी रहेको ठाउँमा पनि कालोपत्रेका लागि बजेट विनियोजन गरिदिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभयो ।

सडक कालोपत्रे भएपछि मानुङकोट पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । यसअघि कच्ची सडक हुँदा मानुङकोट जान पर्यटकलाई सास्ती हुँदै आएको थियो । कोभिड–१९ र बन्दाबन्दीपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । “कालोपत्रे सडकले मानुङकोटमा पर्यटक बढायो, पर्यटककको चहलपहल बढेपछि मानुङकोटमा होटल खुल्ने क्रम बढ्यो,” वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर