मिति गुज्रियो, ढुंगेल पक्राउ परेनन्



काठमाडौं – बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई लिखित निर्देशन दिएको शुक्रबार १५ दिन पुग्छ। तर प्रहरीले ढुंगेललाई पक्राउ गर्ने अदालतको आदेश कार्यान्वयन गरेको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
चैत ३१ मा सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको थियो। अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो। सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
सर्वोच्चको आदेशपछि बल्ल १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए। उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए। तर ढुंगेल पक्राउ परेका छैनन्।
प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले अभियुक्त पक्राउ गर्न प्रयास जारी राखिएको बताए। उनले ढुंगेल कहाँ छन् भन्नेबारे कुनै सुराक नआएको बताउँदै भने, ‘पहल जारी छ।’

Comment