जनै पूर्णिमाका दिन गोसाईंकुण्डमा घुइँचो



(एनपि न्यूज डटनेट) ०५ भदौ- रसुवाको प्रसिद्ध धार्मिक तिर्थस्थल गोसाईंकुण्डमा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन लाग्ने मेला बुधबार सम्पन्न भएको छ ।
एकादशीका दिनदेखि साउन शुक्ल पूर्णिमाका दिनसम्म लाग्ने गोसाईंकुण्ड मेलामा स्वदेशी तथा विदेशी तीर्थयात्रीले कुण्डमा स्नान गरेका छन् । यस वर्ष करिब ५ देखि ७ हजार भत्तजनहरुले मेला भरेको अनुमान गरिएको छ ।

रसुवाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा लाग्ने जनैपुर्णिमा मेलामा स्नान गर्ने तीर्थयात्रीहरुको संख्या पोहोरको तुलनामा भने कम भएको छ ।
भारतको बद्री केदारमा गत असारमा आएको बाढीमा केही तीर्थयात्रीको ज्यान गएका कारणले यो वर्ष त्यही डरले तीर्थयात्री कम आएको हुन सक्ने गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो ।

भदै १ गतेदेखि ५ गते सम्म लागेको मेला भर्न देशका बिभिन्न जिल्लाहरुको साथै छिमेकी देश भारतबाट पनि तीर्थयात्रुहरु आएका थिए । कुण्डमा स्नान गरि गोसाईंवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, आफ्ना पितृहरु तर्नुको साथै आफूले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वास रहेका कारण भक्तजनहरुले कुण्डमा स्नान गर्ने गर्छन् ।

कसरी भयो गोसाईं कुण्डको उत्पत्ति

पौराणिक कथन अनुसार समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई भगवान शिवले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईंकुण्डको उत्पत्ति भएको हो ।

स्याफ्रू गाविसको वडा नं. ६ मा अवस्थित गोसाईंकुण्ड समुन्द्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ । नेपालका चारधामहरु मध्ये एक धामको रुपमा परिचित गोसाईकुण्डमा प्रत्र्यक वर्ष गंगादसहरा र जनैपुर्णिमा गरि वर्षको २ पटक विषेश मेला लाग्ने गर्छ । यस ठाउँ धार्मिक एवम् पर्यटकीय क्षेत्र भएको हुनाले वर्ष भरिने पर्यटकहरुको आगमन भने भईरहने गरेको छ । रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित जैविक विविधताले भरिपूर्ण गोसाईंकुण्ड २०६४ साल असोज ६ गत रामसार साईटमा सूचिकृत भएको छ ।

जिल्लाकै प्रसिद्ध पर्यटकीय एवम् पवित्र धार्मिक तिर्थस्थल गोसाईंकण्ड लाङ्गटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस लोपोन्मुख बन्यजन्तु, लोपन्मुख विभिन्न प्रजातिका बनस्पती र चराहरु रहेका छन् ।

पर्यटकीय एवम् धार्मिक गन्तब्यस्थल गोसाईकुण्डसम्म पुग्दा घट्टेखोला, देउराली, चन्दनवार्री, डिम्सा, चोलाङपाटी, लौरीबिनायक, जस्ता ठाउँहरुवाट मनोरम दृश्यहरु अवलोकन गर्दै गोसाईंकुण्ड पुग्न सकिन्छ । गोसाईंकुण्ड वरिपरि सूर्य कुण्ड, सरस्वती कुण्ड, भैरव कुण्डलगायतका १ सय ८ कुण्ड रहेको अनुमान गरिएको छ ।

कसरी जाने त गोसाईंकुण्ड

राजधानीबाट रसुवाको सदरमुकाम धुन्चेसम्म १ सय १७ किमि बस यात्रापछि एक दिनको पैदल यात्राबाट गोसाईंकुण्ड पुग्न सकिन्छ । गोसाईंकुण्ड उच्च भुभागमा रहेकोले हावामा आक्सीजनको मात्रा कम हुँदै जाने जसले गर्दा लेक लागेर कसैलाई टाउको दुख्ने वाक्वाकी लाग्ने हुन्छ भने त्यसले गर्दा कागती, लसुन, तातोपानी, भिक्सलगायतका घरेलु औषधि सेवन गरी मन्द गतीमा उक्लिनु पर्ने पटक पटक त्यहाँ पुगेका तीर्थयात्रीहरु बताउँछन् ।

गोसाईंकुण्डसम्म पुग्नको लागि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंबाट गरि ४ वटा मार्गहरु रहेका छन ।

Comment